१६ भदौ, काठमाडौं । १६ साउनमा १९ हजार ७७१ रहेको देशभरिको नोबेल कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या भदौ १५ मा ४० हजार ५२९ पुगेको छ ।

पछिल्लो एक महिनामा नेपालमा २० हजार ७५८ जना संक्रमित थपिएका छन् ।

अचम्म के छ भने यो एक महिनामा थपिएकामध्ये दुई तिहाई भन्दा बढी संक्रमित १२ वटा जिल्लाका छन् । १३ हजार ८२३ अर्थात ६६.५९ प्रतिशत संक्रमित काठमाडौं, ललितपुर, चितवन, रुपन्देही, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, मोरङ र सुनसरीका छन् ।

१२ वटै जिल्लामा प्रतिजिल्ला सक्रिय संक्रमितको संख्या ५०० नाघेको छ । त्यसमध्ये काठमाडौं, पर्सा, सर्लाही र रौतहटमा त संक्रिय संक्रमितको संख्या त्यसको दोब्बर अर्थात् १००० भन्दा बढी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अवैतनिक जनस्वास्थ्य विज्ञ सुरेश तिवारी भन्छन्, ‘यो १२ वटा जिल्ला कोरोना संक्रमण आउट ब्रेक भएको छ । संक्रमणको हटस्टप बनेका जिल्लाहरूमा संंक्रमणको चरण समुदाय स्तरमा पुगेको छ ।’

जनस्वास्थ्य विज्ञ तिवारीले मंगलबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा समुदायमा संक्रमण पुगेको पाँच संकेत प्रस्तुत गरेका छन् ।

महिलाहरूमा संक्रमणको दर एक महिना अगाडिसम्म करिव ८ प्रतिशत थियो । त्यो दर सोमबारसम्म ३९ प्रतिशत पुगेको छ । औसतमा २२/२३ प्रतिशत छ ।
ज्येष्ठ नागरिक संक्रमित दर पनि बढ्दो छ । यो एकबाट बढेर ४ प्रतिशत पुगेको छ ।
पहिला अधिकांश संक्रमित भारत वा तेस्रो मुलुकबाट आएकाहरू थिए । अहिले लगभग ९६ प्रतिशतभन्दा बढी संक्रमित स्थानीय केस देखिएको छ ।
मृत्यु दर पनि विस्तारै ज्येष्ठ नागरिक र दीर्घरोगीतिर गएको छ ।
पीसीआर टेष्टमध्ये संक्रमण दर ५ प्रतिशतबाट बढेर ८/९ प्रतिशत पुगेको छ ।
गत साउन दोस्रो साता वीरगञ्जमा संक्रमणसँगै मृत्युदर बढ्दा नै जनस्वास्थ्य विज्ञहरूले समुदायस्तरमा संक्रमण फैलिएको संकेत देखिएको भन्दै ध्यानाकर्षण गराएका थिए । वीरगञ्जमा कोरोना संक्रमितहरूको उपचारमा जुटेका स्वास्थ्यकर्मीहरूले पनि त्यही भन्दै आएका थिए । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले ‘क्लस्टर केस’ भनिरह्यो ।

त्यसपछि सप्तरीको राजविराज, मोरङको विराटनगरमा संक्रमणको दरसँग मृत्युका घटना देखिए । मंगलबार आइपुग्दा १२ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० नाघेको छ भने अरु थुप्रै जिल्ला त्यसको निकट पुगेका देखिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय