प्राइम खबर संबाददाता | पुस ५, २०७९ मंगलबार
बृन्दावनमा प्राप्त अल्ट्रासाउण्ड मेसिनले गर्भवती महिला र नवजात शिशुको मृत्युदर कम गर्ने मेयर बिनोद प्रसाद कुर्मीले बताएका छन् । बुधबार सो नगरपालिकाले गर्भवती महिलाको चेकजाँच गर्नका लागि प्रोटेबल अलट्रासाउण्ड मेसिन पाएको छ ।
बृन्दावन नगरपालिकाका मेयर तथा नेकपा एकीकृत समाजवादी पार्टीका नेता बिनोद प्रसाद कुर्मीको अथक प्रयासबाट गर्भवती महिलाहरुको चेकजाँच सम्बन्धि धेरै समस्या भइरहेकोले आपूर्ति व्यवस्थापन महाशाखाबाट प्रोटेबल अलट्रासाउण्ड मेसिन नगरपालिकालाई उपलब्ध गराएको छ ।
अल्ट्रासाउण्ड चेकजाँच गराउन धेरै अप्ठ्यारो भइरहेको अवस्थामा मेयर बिनोद प्रसाद कुर्मीले पहल गरि आफनो पालिकाबासीको स्वास्थ्य बारे गम्भीर भई सहजरूपमा सेवा प्रदान गराउने उदेश्य रहेको बताए । बृन्दावन नगरपालिकाको गर्भवती महिलाहरुलाई आफनो स्वास्थ्य र गर्भमा रहेको बच्चाको बारे जानकारी लिन धेरै अप्ठयारो भईरहेको अवस्थामा आपूर्ति व्यवस्थापन महाशाखाले एक थान प्रोटेबल अलट्रासाउण्ड मेसिन १५ लाख मुल्य बराबरको स्वास्थ्य संस्थालाई हस्तान्नतरण गरेको छ ।
भिडियो एक्सरे गर्ने उपकरण पाएपछि अब दुर्गम भेगका गर्भवती महिलाहरुले सो सेवाका लागि चपुर, गरुडा, गौर, बिरगंज वा काठमाडौँ जानुपर्ने वाध्यता हटेको नगरपालिकाका मेयर कुर्मीले बताए । अल्ट्रासाउण्ड सेवाले ग्रामीण क्षेत्रमा गर्भवती, सुत्केरी आमा र नवजात शिशुको मृत्यु दर कम गर्न तथा जोखिमको अवस्था समयमै थाहा पाएर उपचार सेवा लिन सहज हुने मेयर कुर्मीले बताए ।
उहाँका अनुसार अल्ट्रासाउण्ड सेवा प्रवाहका लागि नगरपालिकामा दुई जना तालिम प्राप्त स्वास्थ्यकर्मी रहेका छन । यो मेसिनले गर्भवती महिलाको पेटमा रहेको बच्चाको अवस्था सजिलै थाहा पाउन सकिने भएको हुँदा यसले गर्भवती महिला र नवजात शिशुको मृत्युदर घटाउन निकै सहयोग पुग्ने विश्वास गरिएको उनले बताए ।