प्राइम खबर संबाददाता | पुस ५, २०७९ मंगलबार

नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा संसदीय दलको नेता पदमा स्पष्ट दुईतिहाई बहुमतमा देखिएको छ ।


एक वर्षअघि भएको १४औं महाधिवेशनमा देउवासँगै सभापतिमा प्रतिस्पर्धा गरेका प्रकाशमान सिंह र विमलेन्द्र निधिको साथ देउवाले पाएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलको साथ पनि देउवालाई छ । नेता पौडेलले देउवालाई संसदीय दलको नेताको प्रस्ताव गरेपछि संसदीय दलको अंकगणितमा देउवा ७६ सांसदसहित दुईतिहाई बहुमतमा देखिएका हुन् ।



यता, कांग्रेसका संस्थापक नेता वीपी कोइरालाका छोरा डा.शशांक कोइराला पनि देउवाको साथमा छन्  ।डा.कोइरालाले मुलुक हाक्न आलाकाचा कुरा गरेर नहुने बताएका छन् । उनले अहिले देउवाको विकल्प नभएको बताउँदै देउवालाई समर्थन गरेका छन् ।



कांग्रेसभित्रका कतिपय शेखर कोइरालासँग निकट रहेका सांसदहरूले पनि देउवालाई मतदान गर्ने बचन दिएका छन् । गत चुनावमा पटक–पटक आग्रह गरेर आफ्नो क्षेत्रमा बोलाउदा पनि नआएको भन्दै सांसदहरू गगन थापासँग चिढिएका छन् । नेपाली कांग्रेसका सभापति जो हुन्छ उही नै संसदलीय दलको नेतामा निर्वाचित हुने प्रचलन रहँदै आएको छ ।



एक पटक दलको नेता र सभापति फरक व्यक्ति हुँदा पार्टी विभाजन समेत भएकाले त्यो खालको द्वन्द्व सृजना नगर्न पनि सभापति नै संसदीय दलको नेता हुनुपर्ने अधिकांश सांसदहरूको धारणा छ । यता, सरकारमा सहभागी हुने मन्त्रीहरू पठाउने अधिकार पनि सभापतिलाई भएकाले सांसदहरू दलको चुनावमा दायाँबायाँ गर्ने पक्षमा छैनन् ।