प्राइम खबर संबाददाता | पुस ११, २०७९ सोमबार
तेस्रो पटक प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् ।
उनले अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा शपथ ग्रहण गर्न लागेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाहाललाई पद तथा गोपनियताको शपथ खुवाउने कार्यक्रम रहेको छ । दाहालले आइतबार प्रतिनिधि सभाका १ सय ६९ जना सांसदहरुको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए । आइतबार नै राष्ट्रपति भण्डारीले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
दाहालले केही मन्त्रीहरुसहित शपथ ग्रहण गर्ने तयारी गरेका छन् । शुरुमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने र पछि त्यसलाई विस्तार गर्ने दाहालको तयारी रहेको छ ।उनलाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरुको समेत समर्थन रहेको छ ।