प्राइम खबर संबाददाता | पुस ११, २०७९ सोमबार
राप्रपाले सरकारलाई समर्थन गरे पनि सत्तामै जानेबारे निर्णयलाई विचाराधीन अवस्थामा राखेको छ । यहीबीचमा संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रको एजेण्डा बोकेको पार्टी आफ्नो एजेण्डा स्थापित गराउनेतर्फ अग्रसर हुनुपर्नेमा सत्तालिप्सामा लाग्दा उद्देश्य प्राप्त हुन नसक्ने भन्दै नेता कार्यकर्ताले खबरदारी गरेका हुन् । राप्रपाका एक नेताले पार्टीले समर्थन गर्दासम्म अन्यथा नहुने भए पनि सरकारमै जाने निर्णय गरिए त्यो प्रत्युत्पादक हुने प्रतिक्रिया दिए । पार्टीभित्र केही नेताहरू सरकारमा जाने पक्षमा देखिए पनि अधिकांश शीर्ष नेता नै बाहिरै बस्नुपर्ने पक्षमा देखिएका छन् ।
पार्टीका नेता कार्यकर्ताले सत्ता केन्द्रित राजनीति गर्दा तत्कालीन पार्टी अध्यक्ष कमल थापाको स्मरण पनि गरेका छन् । २०७४ सालको निर्वाचनबाट चौथो शक्तिका रूपमा उदाएर तत्कालीन राप्रपा नेपाल सत्ता केन्द्रित राजनीतिमा फस्दा पार्टी तहसनहस भएर कमजोर अवस्थामा पुगेको थियो । अहिले नेतृत्व परिवर्तनपछि लिङ्देन नेतृत्वमा आएर पार्टी कमब्याक भएको अवस्थामा सरकारमा सहभागी भए फेरि त्यही अवस्था दोहोरिन सक्ने नेता कार्यकर्ताको चेतावनी छ । उनीहरूले सामाजिक सञ्जालदेखि नेताहरूलाई व्यक्तिगत रूपमा फोन गरेर समेत सचेत गराएको एक केन्द्रित कार्यसम्पादन समिति सदस्यले जानकारी दिए ।
चौतर्फी दबाब र बहसका बीच राप्रपाको नेतृत्वले सरकारलाई समर्थन मात्रै गरेको स्पष्ट गर्दै सत्तामा जानुपर्ने अवस्था आएमा उपयुक्त कारण खुलाएर जाने भन्दै थामथुमको प्रयास गरेको छ । सोमबार मात्रै सत्ता गठबन्धनको बैठकमा सहभागी हुन बानेश्वर पुगेका राप्रपा अध्यक्ष लिङ्देनले पार्टीले सरकारलाई समर्थन मात्रै गरेको प्रष्ट पार्दै सरकारमा जाने योजना नरहेको जिकिर गरे । ‘हामी यो सरकारलाई समर्थन मात्रै गर्छौ, सरकारमा जाँदैनौँ’, सञ्चारकर्मीसँग लिङ्देनले भने ।