प्राइम खबर संबाददाता | पुस ११, २०७९ सोमबार

मन्त्रिपरिषद्को पहिलो बैठक आज साँझ बसेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको हो । बैठकले जनताको काममा हुने गरेका ढिलासुस्ती हटाउने निर्णय गर्नुको साथै सरकारको प्रवक्तामा गृह मन्त्री रवि लामिछाने लाई तोकेको छ।


नवनियुक्त प्रधानमन्त्री दाहालले आजै ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए । प्रधानमन्त्री प्रचण्डले शपथ लिएसँगै ३ जना उपप्रधानमन्त्री र चारै जना मन्त्रीले आजै राष्ट्रपति विद्यादेवी भण्डारीले समक्ष शपथ ग्रहण गरेका थिए।



उपप्रधानमन्त्री तथा अर्थमा नेकपा एमालेका विष्णु पौडेल, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री तथा गृहमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने रहेका छन् ।



मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहेका छन् । उनीहरुको कार्यभार पछि तोकिने बताइएको छ।