प्राइम खबर संबाददाता | पुस १३, २०७९ बुधबार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही पुस २५ गते संसदमा विश्वासको मत लिने भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित संसदको पहिलो अधिवेशन पुस २५ गतेका लागि बोलाएको छ । सोही दिन प्रधानमन्त्री प्रचण्ड विश्वासको मत लिने तयारीमा छन् ।
नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र ३ स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए ।
दुई वा दुई भन्दा बढी दल मिलेर बनेको सरकारका प्रधानमन्त्रीले सपथ लिएको एक महिनाभित्रै संसदबाट विश्वासको मत लिनु पर्दछ । प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि सत्ता गठबन्धनमा रहेका दलहरुबीच अन्य पदहरुको बाँडफाँड हुने छ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र प्रदेशका मूख्यमन्त्रीहरु बाँडफाँड हुनेछ ।