प्राइम खबर संबाददाता | पुस २२, २०७९ शुक्रबार

रौतहटमा पछिल्लो समय ग्रावेलको नाममा गोरखधन्दा मौलाउँदै गएको प्रति सर्वसाधारणले विरोध जनाउन थालेका छन् । जिल्लामा सघन शहरी विकासको नाममा एक समुहले लामो समय देखी भित्री सडकमा ग्रावेल छिट्दै अनियमितता गर्दै आएको गुनासो उनीहरूको रहेको छ।


जिल्लामा एउटै सडकलाई स्तरोन्नतिको नाममा पटक पटक ग्रेवल राख्ने र वजेट सक्ने कार्य भइरहेको पाइएको भएपनि त्यस तर्फ सम्बन्धीत निकायको ध्यान जान सकेको छैन ।
जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ को बस्तिपुर देखि अल्टोकी, सिन्धुरेधारीको सडक स्तरोन्नतिको नाममा सघन शहरी तथा भवन निर्माण कार्यालयबाट विगत चार वर्षदेखि ग्रेभल राख्ने कार्य गरिरहेको गुनासो छ ।
सघन सहरी विकास कार्यक्रम अन्तर्गत एउटै सडकमा पटक पटक ग्रेभल राख्ने कार्य भएपछि स्थानीयले विरोध गरेका हुन् ।
चन्द्रपुर नगरपालिका वडा नम्बर ९ बाट उपभोक्ता समिति गठन गरिएको भएता पनि त्यसमा अनियमितताको गन्ध छरपष्ट भएको छ ।  उक्त सड़क ग्रेभल गर्न चन्द्रपुर नगरपालिका वडा नं ९ सिन्धुरेधारी देखि दक्षिण बस्तिपुर सम्म स्तरोन्नति कार्य उपभोक्ता समितिलाई सघन शहरी तथा भवन निर्माण कार्यालयले कार्यदेश दिइएको हो ।
चन्द्रपुर नगरपालिका वडा नम्बर ८ मरधर गाउंको सडक स्तरोन्नति तथा थलहिटोल,मोतीपुर, सिन्धुरेघारी सडकस्तरोन्नतीको लागि विनियोजित ९७ लाख बजेट कटौती गरेर ६४ लाखमा निर्माण गर्न समेत गठित उपभोक्ता समितिलाई सघन तथा भवन निर्माण कार्यालय वीरगञ्जले कार्यादेश दिएको छ सो सडकमा समेत गत साल नै ग्रेभल भएको थियो ।
चन्द्रपुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नवराज देवकोटाले आफ्नो वडाबाट उपभोक्ता समिति गठन भएपनि नियम बिपरीत कार्य भएको बताउँछन् ।
सो क्षेत्रका प्रतिनिधि सभा सदस्य देबप्रसाद तिमल्सिनाले सो सडकमा कालोपत्रे गर्न आग्रह गर्दा समेत सघन शहरी तथा भवन निर्माण कार्यालयलेले कमिसनको लोभमा ग्रावेलको  इस्टिमेट बनाएर कार्यदेश दिएको आरोप रहेको छ।
उता, सघन शहरी तथा भवन निर्माण कार्यालय वीरगञ्जका प्रमुख झपड थापाले त्यस्तो कार्य गराउनु प्रविधिक रूपमा त्रुटि  भएको भन्दै पन्छिन खोजेका छन् । पूर्व सहरी विकास मन्त्री प्रभु साहको नाम भजाएर साह निकट कार्यकर्ताहरूले चन्द्रपुर नगरपालिकाका विभिन्न वडाहरूमा सो कार्यालय मार्फत कार्य गर्दै आएको स्रोतले बताएको छ।