प्राइम खबर संबाददाता | पुस २४, २०७९ आइतबार

चन्द्रपुर स्थित चन्द्रनिगाहपुर सरकारी अस्पतालमा साविकका मेडिकल सुपरिटेन्डेन्ट डा. अभिनन्दन श्रीवास्तव तीन वर्षे आफ्नो अध्ययन बिदा पूरा गरेर चन्द्रनिगाहपुर  अस्पतालमा नै फर्किएका छन् ।


श्रीवास्तवको प्रवेश सँगै अस्पतालबाट निकै ठूलो आशा गर्न लायक भएको स्थानीयहरु समेत बताउँछन् ।आफ्नो काम प्रति सधैं इमान्दार रहने र सबैको विश्वास जित्न सफल रहेका उनी चन्द्रनिगाहपुर मा मात्र नभई जिल्ला भर नै नाम कहलिएका लोकप्रिय छवि बनाएका डाक्टरको रुपमा परिचित छन् ।



आईतबार डाक्टर अभिनन्दनको स्वागतमा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जय कुमार काफ्ले सहित नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारीहरु, अस्पतालका डाक्टर,कर्मचारीहरु लगायत स्थानियहरुको समेत उपस्थिति रहेको थियो । नगर प्रमुख सञ्जय कुमार काफ्ले लगायतका ले डाक्टर अभिनन्दन लाई स्वागत अभिनन्दन गर्दै अब अस्पतालले विगतमा भोग्दै आएको समस्या समाधान हुनेमा आफू विश्वस्त रहेको बताए ।



डाक्टर श्रीवास्तव तीन वर्ष अघि आफ्नो अतिरिक्त अध्यनको निम्ति बाहिर रहँदा अस्पताल आफै बिरामी झै रहेर चौतर्फी विरोध र विवादित बन्दै आएको थियो। उनी काठमाण्डौ स्थित कान्ति बाल अस्पतालमा रहेर पुनः चन्द्रनिगाहपुर सरकारी अस्पताल फर्केका हुन् । उनको पुनरागमनले सिंगो रौतहट बासीमा खुसी र आशा पलाएको अस्पतालका कर्मचारीहरु समेत बताउँछन् । उनी सँगै अर्का नयाँ डाक्टर दिपेश साह समेत आइपुगेका छन् । अब चन्द्रनिगाहपुर अस्पतालमा चिकित्सकको संख्या चार पुगेको छ। अस्पताल परिसरमा भएको स्वागत अभिनन्दन कार्यक्रममा पाएको माया, सम्मान र स्थानीयको उनीप्रतिको आशाले डाक्टर अभिनन्दनलाई  गहभरी आशु टिलपिलिएको देखिन्थियो ।