सन्तोष काफ्ले | पुस २७, २०७९ बुधबार
मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त भएका छन् । मधेस प्रदेशमा जनता समाजवादी पार्टीका संसदीय दलका नेता सरोजकुमार यादवले आजै मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख समक्ष दावी पेश गरेका थिए ।
सत्ता साझेदार दलहरुबीच पहिलो चरण जसपालाई दिने सहमतिअनुसार मधेसमा जसपा संसदीय दलका नेता यादवले मुख्यमन्त्री बनेका हुन् । मधेश प्रदेशसभामा १०७ सांसद छन् । बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ । सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, जसपा, माओवादी केन्द्र, जनमत पार्टी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीसँग कुल ६२ सांसद छन् ।
यादवदले स्वतन्त्र सहित ६३ सांसदको समर्थनमा प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष मुख्यमन्त्रीको दाबी पेश गरेका थिए । प्रदेशका निवर्तमान सभामुखसमेत रहेका उनी बारा १ २ बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । मुख्यमन्त्रीका लागि दावी पेश गरेका यादवलाई प्रदेश प्रमुख मिश्रले मुख्यमन्त्रीमा बुधबार नै नियुक्त गरेका हुन् ।