प्राइम खबर संबाददाता | पुस २७, २०७९ बुधबार
रौतहटका बिभिन्न स्थानमा निर्वाध रुपमा संचालनमा रहेका अनुमति बिनाका क्रसर उद्योग बन्द गराउने अभियानमा जिल्ला प्रशासन कार्यालय रौतहट लागेको छ ।
गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय रौतहटले आईतबार जिल्लाका बिभिन्न क्रसर उद्योगको अनुगमन गरेको थियो ।
गृह मन्त्रालयले अबैध क्रसर उद्योग बन्द गर्न निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले आईतबार अनुगमन गरेर केही क्रसर उद्योगलाई बन्द गर्न निर्दैशन दिएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहट, जिल्ला प्रहरी कार्यालय रौतहट, घरेलु तथा साना उद्योग कार्यालय रौतहट, जिल्ला समन्वय समिति रौतहट सहितको सरोकारवाला, कार्यालयका प्रमुख तथा निमित्त प्रमुखहरूले जिल्लामा सञ्चालित क्रसर उद्योगहरूको स्थलगत अनुगमन गरेपछि आईतबार तीन उद्योग बन्द गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
रौतहटको वृन्दावन ६ मा रहेको राम जानकी क्रसर उद्योग, गुजरा क्रसर उद्योग एवं निर्माण कम्पनी लिमिटेड रौतहट, र चन्द्रपुर ८ मा रहेको आश्रय अस्फाल्ट एवं क्रसर उद्योग बन्द गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । यी क्रसर उद्योग लामोे समय देखी आर्थिक चलखेलमा चल्दै आएको थियो ।
रौतहटमा एक दर्जन बढी बालुवा छान्ने उद्योगको नाममा क्रसर उद्योग संचालन हुदै आएको भएपनि कसैले अनुगमन गरेका थिएनन ।
चन्द्रपुर ८ मा रहेको आश्रय अस्फाल्ट एवं क्रसर उद्योगका कारण गाँउमा बस्न सक्ने अवस्था नभएको भन्दै स्थानीले चर्को बिरोध गर्दै आएका छन ।
सो क्रसर उद्योग रौतहट क्षेत्रनं १ को ख प्रदेशसभा सदस्य नागेन्द्र साहका दाजु र उनकै साझेदारीमा गाँउको बिचमा रहेको खेतमा संचालनमा छ ।
गृह मन्त्रालयको निर्देशनपछि रौतहटमा संचालित क्रसर उद्योगहरू बन्द गरिन थालिएपछि सर्वसाधारण खुसी भएका छन् ।
नागरिक समाज रौतहटका सचिव विजय किशोर झाले विगतमा विभिन्न समयमा अवैध रुपमा क्रसर उद्योग संचालन गर्न दिएको पुष्टि भएको बताएका छन ।
विगतमा स्थानीयवासीले अवैध क्रसर उद्योगलाई बन्द गराउन दबाब दिँदा पनि बन्द गराउन नमान्ने स्थानीय प्रहरी प्रशासन गृहको निर्देशनपछि अनुगमन र बन्द गराउन थालेपनि स्थानीयवासी विश्वस्त छैनन ।
रौतहट जिल्लाका बिभिन्न स्थानमा बालुवा चाल्ने बाहाना क्रसर उद्योग संचालन हुदै आएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहट , जिल्ला प्रशासन कार्यालय गौर र स्थानीय पालिकाले ध्यान नदिदा नदि दोहन भैरहेको गुनासो छ ।