सन्तोष काफ्ले | पुस ३०, २०७९ शनिबार

थारु मगर समुदायको महान पर्व माघीको अवसरमा रौतहटको ठूलो नगरपालिका चन्द्रपुर नगरपालिकाले थप एकदिन बिदा दिएको छ ।


नगरप्रमुख सञ्जय कुमार काफ्लेद्वारा शुक्रबार जारी शुभकामना सन्देश मार्फत सूचना जारी गरी माघे संक्रान्ति अर्थात् तिला संक्रान्तिको अवसरमा माघ २ गते स्थानीय बिदा दिइएको जानकारी गराएका हुन् । माघ २ गते नगरपालिका क्षेत्रमा विशेष माघी महोत्सव समेत आयोजना हुने भएकाले नगरपालिका तथा नगरपालिका अन्तर्गत वडा कार्यालय, विद्यालय र आकस्मिक सेवा बाहेकका स्वास्थ्य संस्थामा उक्त दिन बिदा दिइएको नगर कार्यपालिका सदस्य एबम् वडा अध्यक्ष रवि राना मगरले जानकारी दिए ।



माघ १ गते संघीय सरकारले बिदा दिने भएको हुँदा २ गते स्थानीय बिदा दिइएको चन्द्रपुर नगरपालिकाले जनाएको छ । चन्द्रपुर थारु मगर समुदायको बाक्लो बसोवास भएको नगरपालिका हो । यहाँ ४० प्रतिसत भन्दा बढी थारु मगर समुदायको बसोवास छ ।



अघिल्ला वर्षहरुमा पनि यो नगरपालिकाले माघीको अवसरमा स्थानीय बिदा दिने गर्दथ्यो । पछिल्लो कानूनमा स्थानीय तह आफैले विभिन्न पर्व तथा अवसरमा कार्यपालिकाबाट निर्णय गरी आफ्नो पालिकाभित्र बिदा दिन सक्ने व्यवस्था रहेको छ।