प्राइम खबर संबाददाता | माघ १, २०७९ आइतबार
चन्द्रपुर नगरपालिकाले फरक क्षमता भएका सुस्त श्रवण छात्र छात्राहरुको लागि सुविधा सम्पन्न छात्रावास निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।
रौतहट जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित चन्द्रपुर नगरपालिका वडा नं ६ स्थित रहेको जिल्ला कै एकमात्र विद्यालय जन ज्योति माध्यमिक विद्यालयमा संचालित सुस्त श्रवण कक्षामा अध्यनरत फरक क्षमता भएका छात्र छात्राहरुको लागि भइरहेको असुविधालाई मध्यनजर गरी आवास गृहको निर्माण गरिएको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जय कुमार काफ्लेले बताएका छन् ।
साँघुरो कोठामा रहेको छात्राबास र साँघुरो कक्षा कोठामा अध्ययन गर्न बाध्य रहेका सुस्त श्रवण शक्ति भएका बाल बालिकाहरूलाई नगर प्रमुख सञ्जय काफ्लेको पहलमा निर्माण गरिएको उक्त भवन सञ्चालनमा आएपछि उनीहरू प्रत्यक्ष लाभान्वित हुने शिक्षक उमेश राय यादव बताउँछन् ।
यस अघि निवर्तमान नगर प्रमुख रामचन्द्र चौधरीले सिलान्यास गर्दै २० लाख बजेट विनियोजन गरी भुईतलाको निर्माणाधीन अवस्थामा रहेको उक्त भवन पूर्ण रूपले तयारी नहुँदा प्रयोगमा आउन सकेको थिएन । प्रयोगविहीन रहेको सो भवनमा नगर प्रमुख काफ्लेको पहलमा थप बजेट २५ लाखको लागतमा अहिले सुविधा सम्पन्न दुईतले पक्की तयारी भवनको काम सम्पन्न गरी हस्तान्तरण गरिने निर्माण उपभोक्ता समितिले जनाएको छ।
सो भवनमा भान्छा कोठा, सयन कक्ष, आधुनिक शौचालय सहितको व्यवस्था रहने बताइएको छ। साथै छात्र र छात्राको लागि अलग अलग छुट्टै तल्ला रहने गरी निर्माण गरिएको निर्माण समितिले जनाएको छ । सो विद्यालयको सुस्त श्रवण कक्षामा ५ दर्जन बढीको हाराहारीमा छात्रछात्राहरु अध्ययन गर्दै आइरहेका छन् । सो भबन निर्माण पछि असहज पूर्ण तरिकाले चुहिने टिनको छानामा रहेको छात्राबासबाट गुजरा चलाउँदै आएकोमा आगामी दिनमा सो भवनबाट आवास सुविधा पाउने हुँदा प्रफुल्ल भएका देखिन्छन् ।