प्राइम खबर संबाददाता | माघ २१, २०७९ शनिबार

 पोखराका होटल रेस्टुरेन्ट राती १२ बजेसम्म संचालनमा आउने भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखराको लेकसाइड १२ बजेसम्म खोल्ने व्यवस्था गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री अधिकारीले कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीलाई यस्तो निर्देशन दिएका हुन । उनले कोही व्यवसायीले गलत गरे उसलाई कारबाही गर्न तर पुरै व्यवसायीलाई मारमा नपार्न एसपीलाई निर्देश गरेका छन् । व्यवसायलाई मध्यरातसम्म खुलाउन प्रमुख जिल्ला अधिकारीसँग संयुक्त बैठक गर्ने मुख्यमन्त्रीले बताए ।
पोखरा पर्यटन ब्यवसायीले मुख्यमन्त्री अधिकारीलाई स्वागत तथा सम्मान गर्न आयोजित कार्यक्रममा ब्यवसायीहरुले व्यवसायमैत्री वातावरण नभएको गुनासो गरेका थिए । मुख्यमन्त्रीले ब्यवसायीको गुनासो सुनेपछि सो निर्णय गरेका थिए । जनार्दन शर्मा गृहमन्त्री हुँदा गृह मन्त्रालयले २०७४ सालमै पोखराको लेकसाइड, काठमाडौंको ठमेल र दरबार मार्ग २४ घण्टा नै खोल्न दिने कार्ययोजना ल्याएको थियो । तर, अहिलेसम्म त्यो कार्यान्वयन हुन सकेको छैन ।

लेकसाइडका व्यवसायीले आफूहरूलाई २४ घण्टा नै व्यवसाय गर्न दिनुपर्ने माग राख्दै आएका छन् । उनीहरुले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीसँग यही कुरा राखेको रेवानका अध्यक्ष नरेश भट्टराईले जानकारी थिए ।