प्राइम खबर संबाददाता | माघ २३, २०७९ सोमबार

चन्द्रनिगाहपुर अस्पताल प्रालिले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । रौतहट जिल्लाको उत्तरी क्षेत्र  चन्द्रपुर नगरपालिका वडा नम्बर ३ स्थित भोलनटारमा आईतबार सो अस्पतालले स्वास्थ्य शिविर सञ्चालन गरेको जनाएको छ।


विपन्न वर्गका नागरिकहरुको बसोबास रहेको सो स्थानमा अस्पतालका डाक्टर कुन्दन कुमार चौधरीको नेतृत्वमा स्वास्थ्यकर्मी टोलीले एक दिवसीय शिविर सञ्चालन गरेको अस्पतालका कार्यकारी निर्देशक डा. सुबास चौधरीले बताए। 



शिविरमा जिल्लाकै विकट क्षेत्र मानिने सो स्थानका २ सय ५० जना भन्दा बढीले स्वास्थ्य जाँच गराएका थिए । बिरामीहरूको आँखा, नाक, कान लगायत सामान्य स्वास्थ्य जाँच गरिएको सो अस्पतालले जनाएको छ। 



जिल्लाभरिका विभिन्न स्थानहरूमा स्वास्थ्य शिविर सञ्चालन गर्ने लक्ष्यका साथ चन्द्रपुर अस्पतालले आईतबारबाट सुरु गरेको बताएको छ। 

स्वास्थ्य जाँच कै निम्ति चन्द्रनिगाहपुर आउन त्यति अनुकूल नमिल्ने भएको अवस्थामा अस्पतालले गाउँमै नै आएर सेवा दिएको भन्दै स्थानीयले खुशी व्यक्त गरेका थिए। 

स्वास्थ्य जाँच सँगै आवश्यक औषधि समेत वितरण गरिएको र यस प्रकारको शिविर अन्य १२ स्थानमा सञ्चालन हुने अस्पतालका प्रमुख डा. सुबास चौधरीले बताएका छन् ।