प्राइम खबर संबाददाता | माघ २४, २०७९ मंगलबार
योजनाको काम सम्पन्न नै नगरी नगरपालिकाको बजेट भुक्तानी लिन चन्द्रपुरका एक वडा अध्यक्ष लागि परेको तथ्य खुलेको छ ।
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सहदेव केसीले आ.व. २०८९/८० को विनियोजित बजेट ग्रावेलको नाममा काम नै सम्पन्न नगरी बजेट हात पार्न खोजेको तथ्य बाहिरिएको छ । वडाको योजनाहरु मध्य रहेको कच्ची सडक स्तरउन्नती तथा ह्यूम पाइप जडान शीर्षकको नाममा स्वीकृत १० लाख बजेट काम सम्पन्न नै नगरी उपभोक्ता समितिलाई भुक्तानी सिफारिश गरिसकेको तथ्य बाहिरिएको छ ।
वडामा सो शीर्षकको बजेटको काम सम्पन्न नभएको र सुरु समेत भएको भएपनि आफूहरुलाई थाह समेत नभएको सोही वडाका वडा सदस्यहरू स्वयं बताउँछन् । वडा नंबर ६ मा सो कार्य भएको भए आफूहरुलाई जानकारी हुनुपर्ने थियो तर यसबारेमा कुनै जानकारी नभई वडा अध्यक्ष केसीले मनोमानी गरेको आरोप वडा सदस्य सन्नी राउतको रहेको छ । वडा अध्यक्ष केसीले आफ्नो निकट रहेका कार्यकर्ता सुबास राउतलाई उपभोक्ता समिति अध्यक्ष बनाएर निर्माण कार्य सम्पन्न नै नगरी अध्यक्ष राउत मार्फत बजेट हात पार्न खोजेको प्रष्ट देखिन्छ ।
उपभोक्ता समितिले काम सम्पन्न गर्दा वडा स्तरीय अनुगमन समितिको अनुगमन सिफारिश अनिवार्य भएको भएतापनि वडा अध्यक्ष केसीले काम सम्पन्न नहुँदै भुक्तानीको लागि चन्द्रपुर नगरपालिकालाई सिफारिस गरेको सिफारिश पत्र बाहिरिएको छ । आफूहरुलाई सो योजना सम्पन्न भएको कुनै जानकारी नै नभएको र फिल्ड अनुगमन समेत नगरी प्रक्रिया मिचेर आफ्ना कार्यकर्ता पोस्न खोजिएको वडा सदस्य राउतले बताए ।
सो सम्बन्धमा उक्त वडाका प्रविधिक सब इन्जिनियर सिलम ईश्वरसँग बुझ्दा वडामा एस्टिमेट मात्र बनेको र काम भने सम्पन्न भइनसकेको अवस्था रहेको बताइन् । तर वडामा १० लाख बजेटको उक्त काम सम्पन्न भैसकेको भन्दै वडा अध्यक्ष केसीले नगरपालिकाको नाममा भुक्तानीको लागि माघ २० गरेको मितिमा नै सिफारिश पत्र बनाई निकासाको तयारीमा लागेको तथ्य खुलेको छ।
मुलुकमा भ्रष्टाचार बिरुद्द सुशासनको अभियान चली रहँदा स्थानीय सरकारका जनप्रतिनिधि भने अभियानको खिल्ली उडाउदै चुनावी खर्च उठाउने ध्यानमा मात्र केन्द्रित हुनुले पनि अदुअआ को अभियान नेपाल टेलिकमको कलर ट्युनमा मात्र सीमित हुने स्थिति होला भन्न थालिएको छ।