प्राइम खबर संबाददाता | फागुन २, २०७९ मंगलबार

रौतहटका एकजना पत्रकार अलपत्र पुल यथासिघ्र निर्माण गर्न माग गर्दै सोमवार बाट अनसन बसेका छन । जिल्लाको गौर -टिकुलिया अन्तर्गत पर्ने लालबकैया खोलामा पप्पु कन्ट्रक्सनले अलपत्र अवस्थामा राखेको निर्माणाधिन लालबकैयाको पुललाई यथाशिघ्र निर्माणका लागि लालबकैया खोलाको बगरमा पत्रकार सञ्जय सहनी अनसन बसेका छन ।


नेपाल पत्रकार महासंघ रौतहटका सहसचिव समेत रहेका पत्रकार सहनी सोमबार ७ बजे बेलुकीबाट आमरण अनसन बसेका हुन् । अनसन बस्नु अगाडि आफ्नो अभियानलाई सकारात्मक सोचका साथ हेरि दिन र निस्वार्थ ढंगले सहयोग गर्न समेत उनले आग्रह गरेका छन् । उनले आमरण अनसनबाटै प्रधानमन्त्री ,पुर्व प्रधानमन्त्री ,मन्त्री ,सभामुख,पुर्व मन्त्री,मुख्य मन्त्री ,सभामुख ,संसद ,पुर्व सांसद ,स्थानीय तह प्रमुख एवं सरोकारवाला सम्पुर्णमा ध्यानकर्षण गराउने बताएका छन् । अनसन आफ्नो निजी स्वार्थको लागि नभएर सम्पुर्ण गौर नगरपालिका र ईशनाथ नगरपालिकाबासी सहित सिङ्गो रौतहट जिल्लाको हितमा रहने उनी बताउँछन् । पुल समयमा निर्माण नहुँदा वर्षातको समयमा हामीले भोग्दै आएका पीडा र दु:खलाई सुनाउन र सरकार सम्म पुर्याउन तथा समस्याको सामाधान गर्न घर छाडेर सुनसान बकैया खोलाको बगरमा आमरन अनसन बस्न बिवस भएको उनी बताउँछन् । रौतहटको ईशनाथ र गौर नगरपालिका जोड्ने पुल सम्झौता गरेको १० बर्स पुग्न लाग्दा समेत निर्माण सम्पन्न नभई अलपत्र परेको छ । सो क्षेत्रका जनताले उक्त स्थानमा पुल नहुँदा डुङ्गामा चढेर आवागमन गर्दा डुंगा दुर्घटनामा परि दर्जनौंले ज्यान समेत गुमाइसकेका छन् ।



सहनीले सरकार समक्ष पुल अलपत्र हुनु कारण समेत माग गरेका छन् । उनले निर्माणका जिम्मा लिएर पुलमा गुणस्तर हिन सामाग्री प्रयोग गरि अलपत्र पारी भाग्ने पप्पु कन्स्ट्रक्सन कि सरकार ? यदि सरकार दोसि होइन भने लापरबाही गर्ने ठेक्का कम्पनी पप्पु कन्स्ट्रक्सनलाई सरकारबाट संरक्षण किन ? अनि जेलमा कोच्नुको सट्टा पप्पुका मालिक हरिनारायण रौनियारलाई सांसद पद दिएर ,दर्जनौं ठेक्का दिएर मान संम्मान किन ? जस्ता प्रश्नहरु गरेका छन । उक्त निर्माणाधीन पुलको पप्पु कन्ट्रकसनले २०७१ सालमा सम्झौता गर्दा २०७४ माघ २९ मा काम सम्पन्न गर्ने तय भएको थियो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पुलको शिलान्यास गरेका थिए । तत्कालीन सडक डिभिजन कार्यालय हेटौंडाबाट २० करोड ७२ लाखको लागतमा गौर–औरैया जोड्ने लालबकैया नदीमा २२५ मिटर लम्बाइ र ७।२ मिटर चौडाइ भएको पक्की पुल बनाउन बोलपत्र आह्वान गरिएको थियो । लागत इस्टिमेटभन्दा २८ प्रतिशत कम १४ करोड ९३ लाखमा टेन्डर सकार गरेर ३ वर्षभित्र निर्माण काम पूरा गर्ने पप्पु कन्स्ट्रक्सनले जनाएको थियो । पुलको पश्चिमतिरको दुईवटा गडरको काम भए पनि गुणस्तरहीन भएको सडक डिभिजनको ठहर छ । सहनीले आफ्नो ज्यान गए केहि फरक नपर्ने तर भावी सन्तती र इशनाथ र गौर नगरपालिकाबाशी जनताले सो पुलबाट ओहोरदोहोर गर्न पाउनु पर्ने माग गरेका छन् । पुल निर्माणमा तिनै तहको सरकारले प्रतिबद्ध नरहनेसम्म आफ्नो अनसनले निरन्तरता पाउने उनी बताउँछन् ।