प्राइम खबर संबाददाता | फागुन ३, २०७९ बुधबार

शैक्षिक स्थलमा समेत हुँदै गरेको भागवण्डाको राजनीतिले क्याम्पसको साधारण सभा अन्यौलमा परेको छ।


रौतहटको चन्द्रनिगाहपुर स्थित रहेको जन ज्योति बहुमुखी क्याम्पस क्याम्पसको साधारण सभा राजनीतिक भागबन्डा र सीमित व्यक्तिहरूको निजी स्वार्थको कारण अन्यौलमा पर्दै गएको छ ।



गत माघ २७ गतेलाई तय भइसकेको क्याम्पस सभा पछिल्लो समय अन्यौलमा पर्दै गएपछि अभिभावक एबम् क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु समेत जिल्ल परेका छन् । क्याम्पस सभामा विभिन्न संकायका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गर्ने कार्यक्रम समेत हुँदा उत्साहित बनेका विद्यार्थीहरु समेत निरुत्साहित बनेका हुन्।



नेपाली कांग्रेस,नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी सहित चार राजीनितिक पार्टीको क्याम्पस व्यवस्थापन समितिको अध्यक्षमा दाबी रहेको छ । नेपाली कांग्रेसको भूमिका स्पष्ट नहुँदा क्याम्पस सभा प्रभावित भएको स्रोतको दाबी रहेको छ। अघिल्लो क्याम्पस सभामा नेतृत्वको लागि भएको निर्वाचनमा बाम गठबन्धनबाट माओवादीका एकराज थापा सहितको गठबन्धन प्यानल विजयी भएको थियो।

नेपाली कांग्रेस भित्रकै एक समूह पुनः माओवादी पार्टीलाई नै सहयोग गर्नुपर्ने भन्दै आन्तरिक कसरतमा लागेको छ भने केहीले अब कांग्रेसले नै क्याम्पसको नेतृत्व गर्नुपर्ने भन्दै आन्तरिक छलफल र पद बाँडफाडमा समेत लागेको विशेष स्रोतले बताएको छ।

नेकपा एमाले र एकीकृत समाजवादी पनि नेतृत्व हात पार्न कांग्रेस र माओवादी फकाउन लागि परेको बुझिएको छ। अंकगणित हेर्दा कांग्रेस बलियो देखिएको भएता पनी बाम घटकहरु एक हुँदा कांग्रेस पराजित हुने अबस्था रहेको हुँदा गठबन्धनको सँग गर्ने भन्ने कांग्रेस भित्रको ठोस निर्णय आउन नसक्दा क्याम्पस प्रशासनले नै साधारण सभा रोकेको एक क्याम्पस सभा सदस्ले बताए ।

स्थानीय स्तरमा संगठन रहेका राजनीतिक पार्टीहरुलाई प्रतिनिधिको नाम पठाउन चिट्ठी काटेर तयार पारिएको भएता पनि सो क्याम्पसले चिट्ठी वितरणमा आनाकानी गर्नुले क्याम्पस प्रशासन भित्रै बाट क्याम्पस सभा रोक्न, लम्ब्याउन लागेको स्पष्टै देखिन्छ। पछिल्लो समय बसेको क्याम्पस व्यवस्थापन समितिको निर्णयमा भने यही फागुन १५ गतेलाई क्याम्पस सभाको मिति तोकिएको भएतापनि सो मितिमा साधारण सभा हुनेमा विश्वास गर्न सक्ने स्थिति नरहेको समिति कै एकजना सदस्यले बताएका छन् ।

 आफू अनुकूल समिति नआउने र इच्छा गरेका व्यक्तिहरू प्रतिनिधि बन्ने छाटकाट नदेखिएपछि माघमा नै हुनुपर्ने क्याम्पस सभा अनिश्चित भएको बुझिएको छ । क्याम्पस सभा सदस्यमा समितिको बिधान अनुसार विभिन्न क्षेत्रबाट समेटिएका ७९ जना प्रतिनिधिहरू रहने व्यवस्था रहेको छ।