प्राइम खबर संबाददाता | फागुन ३, २०७९ बुधबार

रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर २ स्थित एक सामुदायिक वनमा घाटगद्दी गरेको राखेको काठमा आगलागी हुँदा ठुलो परिणाममा काठ जलेर नोक्सान भएको छ ।


जिल्लाको नमुना सामुदायिक वनमा रहेको घाटगद्दीमा आगो लागेको हो । सो बनका अध्यक्ष विनोद चौधरीका अनुसार बुधबार दिउँसो वन क्षेत्रबाट फैलिएको आगो घाटगद्दी गरेर राखेको काठको चाङ्गहरुमा फैलिएको हो । उनका अनुसार सागरनाथ वन परियोजनाको टिकको जङ्गल हुँदै काठमा फैलिएको आगो पूर्ण रुपमा नियन्त्रणमा लिन चन्द्रपुर नगरपालिकाको वारुणयन्त्र, हरिवन नगरपालिकाको वारुणयन्त्र, सुरक्षाकर्मी तथा स्थानियलाई हम्मेहम्मे परेको थियो । 



 केही वर्ष अघि थुपारेर राखिएको सुकेका काठहरुमा दनदनी बलेको आगो करिब ३ घण्टापछि नियन्त्रणमा लिइएको अध्यक्ष चौधरीले जनाए । आगो १५–१६ वटा काठको चाङ्गमा लागेको र अन्दाजी ५० लाख हाराहारीको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको अध्यक्ष चौधरीले बताए । आगलागीबाट जलेका काठहरु अधिकांस सखुवा प्रजातिका रहेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ । आगलागीबाट कति परिणामको काठ जलेर नष्ट भएको त्यसको एकिन विवरण अहिलेसम्म नआइपुगेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख सुनिल कुमार कर्णले बताए ।
सो स्थानमा घाटगद्दी राखिएका काठहरु हेटौंडा–ढल्केवर–दुहबी ४ सय केभी प्रसारण लाइनको टावर निर्माण गर्दा काटिएका रुखहरु रहेका थिए  । करिब २ वर्षदेखि अलपत्र छाडिएको काठ–दाउरा कुहिँदा पनि डिभिजन वन कार्यालयले त्यसको व्यवस्थापनमा कुनै चासो नदिएको अध्यक्ष चौधरीको भनाइ छ । उनले आफुहरुले बारम्बार डिभिजन वन कार्यालयका प्रमुख तथा कर्मचारीहरुलाई काठहरु कुहिएर नास हुन लागेकाले चाँडै लिलाम प्रक्रिया अगाडि बढाउन आग्रह गरेपनि कार्यालयले समयमै कुनै चासो नदिदाँ आज ठुलो नोक्सानी बेर्होनु परेको बताए । यता डिभिजनल वन अधिकृत कर्ण भने आफुहरुले यस बारेमा प्रक्रिया अगाडि बढाइसकेको तर बिचमा केही ऐन तथा नियमावलीहरु संसोधन भएर पुनः वर्गिकरण लगायतका प्रक्रियाहरु गर्नु परेका केही ढिलाइ भएको बताउँछन् । आगलागी के कति कारणले भएको हो , प्राकृतिक रूपमा भएको या सुनियोजित रुपमा आगो लगाइएको हो त्यसबारे विस्तृत रूपमा अनुसन्धान हुन जरुरी रहेको स्थानीयहरु बताउँछन्।