प्राइम खबर संबाददाता | फागुन ६, २०७९ शनिबार

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको कार्यतालिका त्रिविले सार्वजनिक गरेको हो। मतदान सोही दिन बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्मका लागि तोकिएको छ।


कार्यतालिकाअनुसार समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता फागुन २७ गतेलाई तोकिएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले बिहीबार पत्रकार सम्मेलनमार्फत बताए ।



कार्यतालिका अनुसार फागुन १९ गते विद्यार्थी संघसंगठन दर्ता, फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २५ गते मतदाता सूचीमा दाबी–विरोध तोकिएको छ। फागुन २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ।



निर्वाचनको प्रचार–प्रसार फागुन २९ गतेदेखि चैत २ गते राति १२ बजेसम्म समय तोकिएको छ । त्रिविमा २८ वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गर्न लागिएको हो । निर्वाचनमा २०५१ चैत १८ गते वा त्यसभन्दा पछि जन्मेका विद्यार्थीमात्र उम्मेदवार हुन पाउनेछन् ।