प्राइम खबर संबाददाता | फागुन १५, २०७९ सोमबार
रौतहट जिल्लाको उत्तरी भेगमा अवस्थित रहेको वनजंगलमा रहँदै देखिदै आएको पाटे बाघ सिकारीले मारेको रहस्य खुलेको छ।
दुर्लभ एबम् संरक्षित वन्यजन्तु मानिने पाटे बाघ केही दिन अघि नै जंगलमा सिकारीले मारेको रहस्य एकाएक बहिएको हो। सिकारीद्वारा बाघ मारिएको घटना बारे थाहा पाउन नसकेको भन्दै डिभिजन वन कार्यालय पन्छन खोजेको छ ।
डिभिजन बन् कार्यालयका मातहतका कर्मचारी सँगको सेटिङमा नै रौतहटको विभिन्न स्थानका वनहरुमा सिकारीहरु निर्बाध रूपमा चोरी सिकारी गर्दै आएका छन् । दिनहुँजसो सिकार खेल्न जाने सिकारीहरुको समूहबाट नै सो दुर्लभ प्रजातिको पाटे बाघ मारिएको समाचार स्रोतले बताएको छ।
जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्वर ५ स्थित रहेको राजपेडा गाउँको पूर्वतर्फ अवस्थित रहेको रामलाल वृन्दावन साझेदारी वन क्षेत्रको वनजंगलमा सिकारीले थापेको पासोमा बाघ परेपछि सिकारीले घरेलु हतियार भाला रोपेर लाठी, भाला, बन्चरोले हिर्काउदै उक्त बाघलाई मारेको तथ्य बाहिरिएको छ । ठूलो संख्यामा रहेका सिकारीहरुले जालमा परेको बाघलाई चौतर्फी घेरा हाली लाठी मुङ्ग्री गर्दै भाला,लाठी बन्चरो लगायतका हतियार प्रयोग गरी मारेको विशेष स्रोतले बताएको छ ।
जाल पासोमा परेको उक्त बाघलाई मार्न खोज्दा केही सिकारी लाई सो बाघले आक्रमण समेत गरेको र घाइते समेत भएका छन् । जसमध्ये एकजना सिकारी भने पासोमा परेको बाघको आक्रमणबाट गम्भीर घाइते भएको र उनको तिघ्राको हड्डी समेत भाँचिएको र शरीरमा बाघको नङग्राले चिथोरेको बताइएको छ । गम्भीर घाइते हुनेमा चन्द्रपुर नगरपालिका वडा नम्बर ८ स्थित बेतौना घर भएका भुवन माझी रहेका छन् ।
बाघले सिकारको क्रममा आक्रमण गरेको भन्दा आफू लगायत घटनामा संलग्नहरु समेत फसिने डरले रुखबाट लडेको भनी बिहीबार साँझ अस्पताल उपचारका लागि पुगेका उनको तिघ्रामा फ्राकचर देखेपछि चन्द्रनिगाहपुरमा उपचार सम्भव नभएपछि एम्बुलेन्समा वीरगन्ज स्थित नारायणी उप क्षेत्रीय अस्पतालमा लगेर घाइते माझीको उपचार भइरहेको स्रोतले बतायो।
जंगलमा रहेको उक्त बाघ मारेको आरोपमा समातिने र फस्ने डरले हताहस बनेका सिकारीले अपराध लुकाउन जंगलमै खाल्टो खनेर मृत बाघलाई बिहीबार राति नै पुरेको समेत विशेष श्रोतबाट खुलेको हो । केही सिकारीले बाघको जुँगा, नङग्रा, दारा,पुच्छर समेत तस्करी गरी काटेर लगेको र बाघ सिकारमा ठूलाबडा भन्ने हरुको समेत संलग्नता रहेको अनुमान स्थानीयले गर्न थालेका छन् ।
रौतहटको वनजंगलमा चोरी,तस्करी, सिकारी भन्ने नौलो घटना होइन तर दुर्लभ प्रजातिको बाघ सिकारीले मारेको घटना भने पहिलो पटक सुनेको स्थानीयहरु बताउँछन् । दुर्लभ प्रजातिको पाटेबाघको सिकारमा संलग्नहरुको पहिचान गरी आवश्यक कारवाहीको प्रक्रिया अघि बढाउनुपर्ने बन् वातावरण संरक्षण अभियन्ताहरु बताउँछन् । प्रहरी प्रशासन र सम्बन्धित सरोकारवाला निकायहरुले बृहत अनुसन्धान गरी घटनामा संलग्न सिकारीहरुलाई कानुनी दायरामा ल्याउन विलम्ब गरिरहेको आरोप नागरिक अगुवाहरूको रहेको छ। सो घटनाको डिभिजन वन कार्यालय रौतहटले पुष्टि भने गरिसकेको छैन ।