प्राइम खबर संबाददाता | फागुन १६, २०७९ मंगलबार
त्रिभुवन विश्वविद्यालयले तोकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति नजिकिएसँगै चुनावी सरगर्मी बढ्न थालेको छ। रौतहट जिल्लामा स्वबियु निर्वाचन हुने जन ज्योति बहुमुखी क्याम्पसमा समेत पछिल्लो समय चुनावी सरगर्मी बढ्दै गएको विद्यार्थी नेताहरु बताउँछन्।
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, एमाले निकट अखिल, माओवादी निकट अखिल क्रान्तिकारी, एकीकृत समाजवादी निकट अनेरास्वियु , जसपा नेपाल निकट समाजवादी विद्यार्थी युनियन, जनमत निकट विद्यार्थी जनमत संघ लगायतका विद्यार्थी संगठनहरु जन ज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरमा सक्रीय रूपले क्रियाशील रहँदै आएका छन् ।
लामो समयपछि हुन लागेको यस निर्वाचनलाई लिएर विद्यार्थी संगठनका माउ पार्टीहरुले समेत अहिले विशेष महत्व दिएका छन् । स्वबियु निर्वाचन मार्फत पार्टीको संगठन निर्माण र आधार बनाउनलाई समेत नेतृत्व उत्पादनको लागि प्रमुख साध्य बनेको स्वबियु निर्वाचनमा रणनीति बनाउन आन्तरिक कसरतमा विद्यार्थी नेताहरु जुट्न लागेका छन् ।
स्वबियु निर्वाचनमा ५० प्रतिशत समानुपातिक प्रणालीले विद्यार्थी संगठनहरुले पनि निकै फाइदा पुग्ने देखिन्छ। काम भोट भएका विद्यार्थी संगठनहरुलाई समानुपातिक प्रणालीले गर्दै स्ववियुमा सहज उपस्थिति हुने आधार बलियो भएका हुँदा अलि टाठा बाठा उम्मेद्वारहरुलाई साना संगठनहरुले समानुपातिक उम्मेदवारको रूपमा तयार गर्ने देखिएको छ।
नेविसंघको वर्चस्व रहेको उक्त क्याम्पसमा स्वबियु समीकरणको सम्भावना भने कायम रहेको बामपन्थी विद्यार्थी नेताहरु बताउँछन्। सत्ता समीकरण केन्द्रमा जस्तो भएपनि हामी स्थानीय भूगोलको आधारमा आपसी समीकरण बनाउन अनेरास्ववियु र क्रान्तिकारीका नेताहरु कसरतमा देखिन्छन् । पहिलो स्वबियु निर्वाचनमा संयुक्त बाम मोर्चाको समीकरण बाट विजयी भएको भएतापनि त्यस पछिको लगातार दुई निर्वाचनमा नेविसंघले नै प्यानल सहित विजयी हुँदै आएको छ।
कम्युनिस्ट घटक विद्यार्थीहरूको स्वबियुसत्ता आरोहणको यात्रा सफल हुन नसक्नुको कारण समीकरण या तालमेल हुन नसक्दा भोगेको परिणामलाई यसपटक पाठको रूपमा सिकेर अघि बढ्न थालेको अखिल क्रान्तिकारीका एक विद्यार्थी नेताले बताए । जनमत र जसपा निकट विद्यार्थी संगठन समेत यसपाली च्याँखे दाउमा देखिन्छन् । आफूलाई सभापति पद दिने सँग मात्र सहकार्य गर्न तयार रहेको एक नेताले बताए । उनी भन्छन “ यत्तिका वर्ष नेविसंघले चलायो अब हाम्रो पालो हो हामीलाई पुछारमा खुम्चेर सहकार्य गर्नु छैन , आन्तरिक कसरतमा छौ ।“
अघिल्लो स्वबियुमा प्यानल सहित विजयी भएको नेविसंघले पनि यसपाली सहज नहुने अनुमान धेरैले गरेका छन् । आन्तरिक कीचलोमा फसेको भएपनि आफूहरुलाई जीत निकाल्न सहज हुने नेविसंघका चर्चित विद्यार्थी नेता भीमराज अधिकारी बताउँछन् । मिश्रित प्रतिनिधि सहितको स्वबियु सरकारलाई यसपटक निर्णय गर्न र न्यूनतम साझा कार्यक्रम बनाउन फलामको चिउरा चपाउनु सरह हुने निर्वाचन परिणामले देखाउने विद्यार्थी नेता राजन पटेलले बताए ।