प्राइम खबर संबाददाता | फागुन १७, २०७९ बुधबार

रौतहट स्थित नेपाल विद्यार्थी संघ जन ज्योति बहुमुखी क्याम्पसको छैठौं ईकाई अधिवेशन सम्पन्न भएको छ।


आगामी स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा संघले निर्वाचन तयारी स्वरूप संगठन विस्तार गरेको बताइएको छ । क्याम्पसमा अध्ययनरत जेनुन  विद्यार्थी भेलाबाट नेतृत्व चयन गर्ने प्रक्रियाको शुभारम्भ कर्ता नै नेविसंघ रहेको हुँदा लोकतन्त्रको सारथी नेविसंघमा आबद्ध भई लागि पर्न  पूर्व विद्यार्थी नेता एवम् नेपाली कांग्रेस महासमिति सदस्य देवराज कार्कीले सुझाए । जिल्ला कार्य समितिको आयोजनामा भएको भेलाले चर्चित विद्यार्थी नेता भीमराज अधिकारीको अध्यक्षतामा १०१ ईकाई कमिटी सदस्य गठन गरेको हो।



नेविसंघ जिल्ला अध्यक्ष अधिकार लामिछानेको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अथिति रौतहट क्षेत्र नम्बर ४ का संघीय सांसद देव प्रसाद तिमल्सेनाले नेपाल विद्यार्थी संघको महत्व र विद्यार्थी आन्दोलन र समग्र देशको राजनीतिमा संघले खेलेको भूमिका बारे प्रकाश पारेका छन्। मन्तव्य राख्दै सांसद तिमल्सिनाले आगामी स्वबियु निर्वाचनमा नेविसंघको प्यानललाई निर्वाचित गर्न विद्यार्थीहरुलाई आवहान गरेका छन् ।



विद्यार्थीहरूको नेविसंघ प्रतिको झुकाव र आकर्षण देखेर कम्युनिस्ट विचार धाराका क्याम्पस प्रमुख समेत जिल्ल परेका नेविसंघ नेता गोपाल हुमागाईले बताए । क्याम्पसको ठूलो कोठामा समेत नअटेर खचाखच भरिएका विद्यार्थी बाहिर झ्याल ढोकामा उभिएर कार्यक्रम र नेताको सम्बोधनलाई चाख दिएर सुनिरहेका थिए । विद्यार्थीको भीड र नेविसंघ प्रतिको स्नेह महसुस गरेका प्रमुख अथिति सांसद तिमल्सेनाले आउँदो चैत ५ गते हुने ऐतिहासिक स्ववियु निर्वाचनमा नेविसंघलाई क्याम्पसमा विजयी गराएमा जन ज्योती क्याम्पसमा एउटा व्यवस्थित सभाहल समेत निर्माण गर्ने घोषणा गरेका छन्।

अधिवेशनले विद्यार्थी नेता भीमराज अधिकारीलाई सर्वसम्मत चयन गरेपश्चात सिट्ठी र तालीको आवाज हलमा गुन्जिएको थियो । अधिवेशन उद्घाटन कार्यक्रममा पूर्व विद्यार्थी नेताहरु नेपाली कांग्रेसका विभिन्न तह र तप्काका नेताहरु, महाधिवेशन प्रतिनिधि,महासमिति सदस्यहरुको आतिथ्यता रहेको उक्त कार्यक्रम विद्यार्थी नेता अर्जुन चौधरीले सञ्चालन गरेको नेपाल विद्यार्थी संघका नेता एबम् निवर्तमान स्वबियु सभापति संगम श्रेष्ठले बताए ।