प्राइम खबर संबाददाता | फागुन १९, २०७९ शुक्रबार

रौतहटमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनको मिति नजिक आएसंगै नेपाली कांग्रेस निकट भातृसंगठन नेपाल विद्यार्थी संघले संगठन बिस्तारमा तिव्रता दिएको छ । स्ववियु निर्वाचन हुने यहाँका क्याम्पसमा संगठन बिस्तारको काममा तिव्रता दिइएको नेविसंघ रौतहट अध्यक्ष अधिकार लामिछानेले जानकारी दिएका छन्। त्रिभुवन विश्वविद्यालयले चैत ५ गते स्ववियु निर्वाचनको मिति तय गरेको छ ।


मिति नजिकिएसंगै नेविसंघ रौतहटको सम्पूर्ण ध्यान स्ववियु निर्वाचन कसरी जित्ने भन्नेमा केन्द्रित रहेको अध्यक्ष लामिछानेको भनाइ छ । यहाँ रहेका क्याम्पसहरूमा पुगेर संगठन बिस्तार गर्ने काम भइरहेको नेविसंघ रौतहटले जनाएको छ । रौतहट जिल्लामा एकमात्र स्वबियु निर्वाचन हुने क्याम्पस जन ज्योति बहुमुखी क्याम्पस रहेको छ।



यसअघि फागुन १३ गते पाटनमा सम्पन्न भएको बैठकले गरेको निर्णयअनुसार संगठन बिस्तारको काम भइरहेको हो । बैठकले स्ववियु निर्वाचनलाई लक्षित गरेर यही फागुन १५ गतेदेखि संगठन विस्तार अभियान सञ्चालन गर्ने, स्ववियु निर्वाचन हुने क्याम्पसहरुमा प्रतिनिधि खटाउने र स्ववियु निर्वाचनका लागि क्याम्पस र भेग सुहाउँदो नारा तय गर्ने निर्णय भएको थियो ।



नेविसंघप्रति विद्यार्थीको आकर्षक बढ्दो रहेको अध्यक्ष लामिछाने बताउँछन् । यसैबीच शुक्रबार बिहान स्वबियु निर्वाचन हुने उक्त जन ज्योति बहुमुखी क्याम्पसमा निर्वाचन समिति समक्ष संगठन (दल) दर्ता समेत गरिएको अध्यक्ष लामिछानेले बताए ।