प्राइम खबर संबाददाता | फागुन २०, २०७९ शनिबार

रौतहटमा पाटे बाघ चोरी शिकारीको क्रममा सिकारीले पासोमा पारेर मारेको खबर सनसनीपूर्ण फैलँदा समेत नियमनकारी निकायहरु मुकदर्शक झै रहेर बसेका छन् । साता दिन अघि जिल्लाको रामलाल वृन्दावन साझेदारी वन क्षेत्रमा चाँदी खोला पूर्व नजिकै रहेको फाँटामा चोरी शिकारीले थापेको पासोमा पारी पाटे बाघ मारेर बाघको अंग समेत निकालेर पुरिएको घटना एकाएक बाहिरिएको भएतापनि अहिले सो घटनाको आवश्यक अनुसन्धानमा ढिलाइ भएको र डिभिजन बन् कार्यालय समेत मुकदर्शक बनेको स्थानीयको आरोप रहेको छ। 


सो क्षेत्रमा केही साता अघि मात्र नेपाली सेनाको फाइरिङ सकिएको अवस्थामा त्यति संवेदनशील क्षेत्रमा सिकारीले  चेतनगर सब डिभिजन पोस्टको कर्मचारीको मिलोमतोमा सिकारी गर्दै आएको प्रष्ट देखिन्छ । सब डिभिजन बन कार्यालयबाट नजिकैको दूरीमा रहेको स्थानमा रहेको जंगलमा पाटे बाघ मारिएको खबरले बन भित्रको सुरक्षा फितलो भएको भन्दै अन्य घटना पनि दोहोरिन सक्ने आंशकाले संंरक्षणकर्मी समेत चिन्तित भएका छन्।  



ठूलो संख्यामा रहेका सिकारीहरुले थापेको पासोमा पारी पाटे बाघ मारिएको र घटना लुकाउन खाल्डो खनेर पुरिएको समाचार स्रोतले बतायो।  सिकारीले बाघ मारेर गाडेको स्थान पत्ता लगाउन सकिने आधारहरू धेरै भएको भएतापनि हालसम्म त्यसको प्रभावकारिताको सदुपयोग गर्न नसक्नु र आनाकानी गर्नुले डिभिजन वन कार्यालय को नियतमाथि नै प्रश्न चिन्ह खडा भएको स्थानीयहरु समेत बताउँछन्।  



वन कार्यालय रौतहटले सो घटना अनुसन्धानको नाममा कहिलेकाही आकल झुक्कल चार पाँच जना प्रहरी बोकेर एक घण्टा चाँदी किनारमा आराम गर्ने काम बाहेक केही हुन नसकेको मोतिपुरका एक स्थानीयले बताएका छन्। 

सो घटना लुकाउन बन कार्यालयका  केही कर्मचारी नै निकै सक्रिय रूपले लागि परेको समेत चर्चा चुलिँदै गएको छ। नेपाल प्रहरी, शसस्त्र प्रहरी,नेपाली सेना , अनुसन्धान , निकुञ्ज सुरक्षा लगायतको निकायलाई समेत सहयोग माग्न ढिलाइ हुनुले पनि घटना मत्थर बनाउन खोजेको त होइन भन्ने आम नागरिकको बुझाइ रहेको छ । 

सो घटना भएको दिन सिकारीहरु सँगै गएका चन्द्रपुर ८ बेतौना घर भएका भुवन माझी बाघको आक्रमणमा परी घाइते भई हाल वीरगन्ज स्थित भवानी अस्पतालमा उपचारको क्रममा रहेका छन् ।