प्राइम खबर संबाददाता | फागुन २८, २०७९ आइतबार
स्वबियु निर्वाचनमा गठबन्धनको प्रस्ताव आएपनि आफूहरुको संगठन अखिल संयुक्तको ढोक्सामा नपरेको समाजवादी विद्यार्थी युनियनका एकाई सभापति पियूष सिंह क्षेत्रीले बताए।
उनी भन्छन अखिल संयुक्त लगायतको गठबन्धनको तर्फबाट सहकार्यको लागि विभिन्न प्रस्तावहरू आएको भएतापनि त्यसलाई आफूहरुले षड्यन्त्रको रूपमा लिएको र त्यस कुरामा समझदारी हुन नसक्ने बताएका छन्।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको निम्ति शनिबार मनोनयन दर्ता गराएका विद्यार्थी संगठनहरुले चुनावी अभियान तिब्रता दिएका छन् । चैत्र ५ गते हुने स्वबियु निर्वाचनमा जनज्योति बहुमुखी क्याम्पस रौतहटमा नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा एस निकट अनेरास्ववियु , माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र जनमत पार्टी निकट विद्यार्थी जनमत संघले संयुक्त रूपमा मनोनयन दर्ता गरेका छन् भने कांग्रेस निकट नेपाल विद्यार्थी संघ र जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनले छुट्टा छुट्टै प्यानल खडा गरी मनोनयन दर्ता गराएका हुन् ।
जसपा निकट नेताका अनुसार आफ्नो संगठनलाई अखिल संयुक्तले गठबन्धनमा सहभागी हुन आग्रह गरेको भएता पनि अपमानजनक ढंगले सहभागी हुन नसक्ने बताउँदै छुट्टै प्यानल दर्ता गराएको बताए । भागवण्डाको राजनीतिबाट आफूहरुलाई टाढै रहेको र ग्रामीण भेगका विद्यार्थी र मधेशी आदिवासी, जनजाति विद्यार्थी तर्फ राम्रो पकड रहेको हुँदा विद्यार्थी नेता आशिष लामाको नेतृत्वमा निर्वाचनमा होमिएको एकाई सभापति क्षेत्रीले बताए ।
समाजवादी विद्यार्थी युनियनले विशेष: जुडिबेला, गुजरा, गढीमाई, वृन्दावन र फतुवा विजयपुरमा रहेका विद्यार्थीहरु लाई आफ्नो भोट बैंकको रूपमा लिएको बताइएको छ । समावेशी र समानुपातिक प्रतिनिधि मुलक उम्मेदवारहरूको छनौट गरी चुनावी अभियानलाई तिब्रता दिएको समाजवादी विद्यार्थी युनियनले आजबाट नै घर दैलो कार्यक्रमलाई समेत तिब्रता दिने बताएको छ ।