प्राइम खबर संबाददाता | फागुन २९, २०७९ सोमबार
धौलागिरि बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि मनोनयन दर्ताको क्रममा विवाद उत्पन्न भएपछि केही विद्यार्थी नेताहरूले क्याम्पस प्रमुखसहितको टोलीलाई कार्यकक्षमै थुनिदिएका छन् ।
तोकिएको मनोनयन तालिकामा प्रक्रिया सुरु नगरेको भन्दै सोमबार साँझ क्याम्पस प्रमुख रामप्रसाद उपाध्याय र निर्वाचन अधिकृत भक्तिराम न्यौपानेसहितको टोलीलाई उनीहरूले क्याम्पसमा ताला लगाएर थुनिदिएका हुन् ।
सुजन सापकोटा संयोजक रहेको संयुक्त विद्यार्थी समूहले ताला लगाएको क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले टेलिफोनमा बताए ।
क्याम्पस प्रमुखको कार्यकक्षमा व्यवस्थापन समितिका अध्यक्ष दिनबहादुर थापा पनि थुनिएका छन् । थुनिनेमा निर्वाचन समितिका पदाधिकारी पनि रहेको बताइएको छ । शुक्रबार मनोनयन पत्र वितरण र शनिबार मनोनयन दर्ता गर्नुपर्नेमा अझैसम्म निर्वाचन समितिले म्याद थपेर काम नगरेको विद्यार्थी संगठनको आरोप छ । सोही विषयमा छलफल चलिरहेका बेला विद्यार्थीले कक्षमा ताला लगाएका थिए ।
साताअघि अखिल क्रान्तिकारीसहितका केही विद्यार्थी संगठनले सबै मतदाताको एकैप्रकारको परिचयपत्र बनाउनुपर्ने, फर्जी विद्यार्थी भर्ना भएकोमा मतदाता सूचीबाट हटाउनु पर्ने माग गरेर निर्वाचन कार्यालयमा ताला लगाएका थिए । सोमबार दिउँसो ४ बजेसम्म मनोनयन पत्र दर्ता गर्ने समय बढाइएकोमा कुनै निर्णय नदिएपछि उनीहरुले ताला लगाएका थिए ।