प्राइम खबर संबाददाता | चैत १५, २०७९ बुधबार
दोलखाको धार्मिक एवं पर्यटकीय स्थल कालिञ्चोकमा बुधबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँको अवसरमा यहाँ भक्तजनको घुइँचो लागेको हो ।
चैतेदेशैँको नवरात्र सुरु भएदेखि नै यहाँ नेपालका विभिन्न जिल्लाबाट भक्तजन आएका छन् । कालिञ्चोक दोलखा जिल्लामा अवस्थित धार्मिक एवं पर्यटकीय प्राकृतिक पर्यटकीय स्थल हो। आज बिहानैदेखि मन्दिर परिसरमा भक्तजनको भीड लागेको कुरी बजारका होटल व्यवसायी रोहित तामाङले बताए। कालिञ्चोकमा दिनहुँ दिन पर्यटक आएतापनि आजको दिन विशेष गरी पर्यटकको चहलपहल निकै बढेको उनको भनाइ छ।
सदरमुकाम चरिकोटबाट करिव १५ किलो मिटर उत्तर कालिन्चोक गाउपालिकामा अवस्थित यो मन्दिर ३८४२ मिटर को उचाईमा रहेको छ। कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ। कालिञ्चोक डांडाबाट मनोरम रोलवालिङ हिम शृङ्खला र मनोरम प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ। जनैपुर्णीमा, दशैं, चैते दशैंमा भक्तजनको भिड लाग्ने गर्दछ। यो हिन्दूहरूको लागि एक प्रसिद्ध तीर्थ स्थल हो।
भीमेश्वर मन्दिरमा पनि उस्तै भीड
यस्तै जिल्लाको प्रसिद्ध भीमेश्वर मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको पाइएको छ। अरु दिनको तुलनामा चैते दशैँको दिन मन्दिरमा भीड लागेको भीमेश्वर भीमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समितिले जनाएको छ । समितिका अध्यक्ष भरत श्रेष्ठले मन्दिर दर्शनको लागि स्थानीय मात्र नभई विभिन्न जिल्लाबाट भक्तजनको आवागमन भएको बताए । सो मन्दिरमा बोका, राँगा, कुखुरा र भेडाको बली समेत भक्तजनद्धारा चढाइएको चढाइएको छ । मन्दिरमा अन्य बेला दैनिक दुई सय जना बढीले दर्शन गर्ने गरेका छन् । तर चाडपर्व तथा विषेश दिनमा भने भक्तजन तथा दर्शनार्थीको बाक्लो उपस्थिति रहने गरेको छ । चैते दशैँको दिनभर बिहान देखि बेलुकी सम्म गरी करिब १५ सय जनाले मन्दिर पुगेर दर्शन गर्ने अनुमान गरिएको उनले बताए।
मन्दिरमा रहेको एक शिला तीन अवतारको रुपमा पुजिने भीमशेनको शिलामा पसिना आए शुभ वा अशुभ हुने विश्वास गरिन्छ । यहाँ अहिलेसम्म १९ औँ पटक पसिना आएको छ । मन्दिरमा अन्य धर्मका पनि प्रतीकहरु रहेका कारण हिन्दुधर्मका मात्र नभई अन्य धर्म मान्नेहरु समेत दर्शनका लागि आउने गरेको उनले बताए । मन्दिरमा आफुले मागेको कुरा पुरा हुने र पापबाट मोक्ष पाइने जनविश्वास रहिआएको छ ।