प्राइम खबर संबाददाता | चैत २२, २०७९ बुधबार
रौतहटका वनबाट काठ तस्करहरुले काठ तस्करीको लागि नयाँ डिजाइन निकालेको पाइएका छन् । तस्करहरुले पहिले टायर गाडा र ट्याक्टरमा काठ तस्करी गर्ने गर्थे ।
तर, पछिल्लो समय काठ तस्करीका लागि साइकल र मोटरसाइकलमा प्रयोग गर्ने गरेको पाइएको छ ।
पछिल्ला समयमा तस्करहरुले जंगलबाट बहुमूल्य सखुवा प्रजाति लगायतका रुखहरु काटेर त्यसलाई गोलिया बनाएर साइकल तथा मोटरसाइकलमा तस्करी गर्ने गरेका छन् ।
तस्करहरुले तस्करीको लागि साधरण साइकलको स्वरुपनै परिवर्तन गरेर त्यसलाई नयाँ डिजाइन दिएका छन् । उनीहरुले तस्करीको लागि डिजाइन गरेको साइकलमा दुइचक्का बीचको त्रिभुज आकारको भाग हटाएर त्यसको ठाउँमा मोटो फलामको गोलाकार डिजाइन गरेका छन् । त्यसैगरी उनीहरुले साधरण साइकल प्रयोग हुँदै आएको दुबै चक्का हटाएर त्यसको सट्टामा रिक्साको चक्का प्रयोग गरेका छन् । त्यत्ति मात्र होइन काठ तस्करी गर्दा साइकल नभाचियोस् भनेर त्यसमा चारैतिर मोटो फलाम तथा रडले सर्पोट दिइएको छ । यसरी बनाइएको साइकलमा ब्रेक तथा पेडल भने राखिएको छैन् ।
तस्करहरुले तस्करी गर्दा एकजनाले साइकल डोर्याउने र अरूले पछाडिबाट धकेल्ने र आवश्यक परे रोक्ने गरेका छन् । उनीहरुले एउटा साइकलबाट एकपटकमा करिब १६ देखि १८ क्युफिटसम्मको काठको गोलिया तस्करी गर्न सक्ने गरी साइकलको डिजाइन गरेका छन् । जंगलको बाटो ट्याक्टर वा टायर गाडाले तस्करी गर्दा अप्ठ्यारो हुने, वन रक्षकले पक्रने डर भएकाले तस्करहरुले साइकल तथा मोटरसाइकलको प्रयोग गर्ने गरेको स्थानीय अजय कुमार पटेल बताउँछन् । तस्करी समुहले तस्करी गर्न बनाएको नयाँ डिजाइनको ५ थान साइकल वन कर्मचारी टोलीले बराबद गरेको छ । सोमबार साँझ करिब साढे ७ बजेको समयमा जिल्लाको वृन्दावन सव डिभिजन वन कार्यालयका अन्तरगतका जंगलमा तस्कर समुह प्रवेश गरेको सुचना वन कर्मचारीहरुले पाएपछि कतस्कर समुहलाई खोजि कार्य गर्दै जादा वन कर्मचारी टोलीलाई देखेर साइकल छाडी तस्कर समुह फरार भएको थियो । तस्कर समुह फरार भएपछि उनीहरु सँग रहेको ५ थान साइकल जयलाल पटेलको कमाण्डमा खटिएका वन कर्मचारी टोलीले ती साइकल नियन्त्रण लिएको हो । यतिबेला नियन्त्रणमा लिएको साइकल कस्को हो भन्ने बिषयमा वन कर्मचारीहरु खोजि कर्य गरिरहेको वृन्दावन सवडिभिजन वन कार्यालयका कमाण्डर जयलाल पटेलले जानकारी दिएका छन् । यता स्थानीयबासीन्दा भने, सधै साइकल मात्र पक्राउ पर्ने तस्कर कहिलै पक्राउ नपर्ने गुनासो गरिरहेको छ ।