प्राइम खबर संबाददाता | चैत २३, २०७९ बिहिबार

चन्द्रनिगाहपुर स्थित जन ज्योति बहुमुखी क्याम्पसले आउँदो नयाँ वर्षदेखि शिक्षक कर्मचारी तथा विद्यार्थीहरुमा नयाँ नियम कडाइका साथ लागु गर्ने भएको छ । 


सो क्याम्पसले बिहीबार एक सूचना प्रकाशित गर्दै आगामी वैशाख ३ गतेदेखि क्याम्पसले तोकेको पोशाक लगाएर मात्र क्याम्पस प्रवेश गर्न शिक्षक, कर्मचारी तथा विद्यार्थीलाई निर्देशन दिएको क्याम्पस प्रमुख राजन श्रेष्ठले बताए । 



पछिल्लो समय क्याम्पस परिसरमा भित्र विद्यार्थी सँगै गैर विद्यार्थीहरुको हावी हुँदा अध्यापनमा समेत प्रभावित परेको सोही क्याम्पसमा अध्यापन गराउने शिक्षक कर्मचारी समेत बताउँछन् ।  विद्यार्थी सँगै शिक्षक तथा कर्मचारीले पनि तोकिएको पोशाक नलगाउँदा शिक्षक र विद्यार्थी नै चिन्न नसकिने अवस्थाको सिर्जना भएको हुँदा क्याम्पसमा अनुशासन र मर्यादित रही तोकिएको पोशाक लगाएर क्याम्पस प्रवेश गर्न अध्यनरत बिधार्थीहरुलाई समेत आग्रह गरेको छ ।



क्याम्पस हातामा अध्ययनको लागि प्रवेश गर्ने विद्यार्थीले अनिवार्य तोकिएको पोशाक सँगै परिचय पत्र अनिवार्य रूपमा बोकेर नआए प्रवेश गर्न रोक लगाउने समेत बताएको छ । प्राय उक्त क्याम्पसमा पोशाक नलगाई हो हल्ला मच्चाउने विद्यार्थीहरूको लागि यो नियमले तह लगाउने स्थानीय अभिभावकहरू बताउँछन् ।