प्राइम खबर संबाददाता | चैत २३, २०७९ बिहिबार
बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित तीनजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको छ। अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासिनी सहित लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेशप्रसाद यादव विरुद्ध मुद्दा चलाएको हो।
तीनैजनाविरुद्ध एक लाख ९९ हजार ८९७ रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा चलाइएको हो। आर्थिक वर्ष २०७६/०७७ मा जिन्सी व्यवस्थापनको केन्द्रीय प्रणालीको सफ्टवेयर खरिद तथा जडान कार्यका लागि उनीहरूले १ लाख ९९ हजार ८९७ बजेट स्वीकृत गराएर सफ्टवेयर खरिद गरेका थिए।
उक्त सफ्टवेयर प्रयोग नगरी सरकारी सम्पत्ति हानी-नोक्सानी गरेको आरोप उनीहरूमाथि लागेको हो। अख्तियारले उनीहरूविरुद्ध बुधबार विशेष अदालतमा आरोपपत्र दर्ता गरेको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिम उनीहरूमाथि आरोपपत्र दर्ता गरिएको हो।