प्राइम खबर संबाददाता | बैशाख ३, २०८० आइतबार
रौतहटको गढीमाई नगरपालिकामा गोली लागेर एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन ।
शनिबार गढीमाई नगरपालिका–८ स्थित धोबिनियामा सडक विस्तारको क्रममा जग्गासम्बन्धी विवाद उत्पन्न हुँदा दुई पक्षबीच भएको झडपमा गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक वीरबहादुर बुढामगरले बताए ।
गोली लागेर स्थानीय ५० बर्षिय राजकुमार राय यादवको मृत्यु भएको छ । विवादका क्रममा गोली लागेका उनलाई उपचारका लागि वीरगञ्ज लैजाँदा लैजाँदै बाटोमा नै मृत्यु भएको एसपी बुढामगरले बताए ।
गोली कसले चलायो भन्ने अनुशन्धान भैईरहेको प्रहरीले जनाएको छ । गढीमाई नगरपालिकाको धोबिनियामा निर्माण भैरहेको बाटोको विषयमा विवाद हुँदा १२ बोरको बन्दुकको गोली प्रहार भएको प्रहरीको भनाइ रहेको छ ।
गोली लागेर स्थानीय रामप्रताप यादव, बालधर यादव, कपिलदेव राय यादव र निरञ्जन यादव घाइते भएका छन् । घटनामा संलग्न रहेको आशंकामा ११ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
घटनामा प्रयोग भएको १२ बोरको बन्दुक प्रहरीले बरामद गरेको छ । घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी कार्य जारी रहेको र घटनाको अनुसन्धान भइरहेको एसपी बुढामगरले जानकारी दिएका छन ।