प्राइम खबर संबाददाता | बैशाख ११, २०८० सोमबार
नेपाल सरकारले माध्यमिक तह अन्तर्गत कक्षा १ देखि कक्षा १० सम्म निःशुल्क पाठ्यपुस्तकको ब्यबस्था गरेको भएतापनि अतिरिक्त पुस्तकको नाममा विद्यार्थीहरुलाई जबर्जस्ती आर्थिक बोझ बोक्न बाध्य बनाइएको तथ्य बाहिरिएको छ ।
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका स्थित रहेको जन ज्योति नमुना माध्यमिक विद्यालयका एक शिक्षकले नमुना कार्य गर्न थालेपछि यो तथ्य बाहिरिएको हो । विद्यालयले पछिल्लो समय शैक्षिक सुधार सहित गुणस्तरीय र व्यावहारिक निःशुल्क शिक्षामा जोड दिँदै आइरहेको भएतापनि सोही विद्यालयमा अध्यापन गराउँदै गरेका माध्यमिक तहका नेपाली विषय पढाउने शिक्षक लक्ष्मण खनालले भने कोर्ष भन्दा बाहिरको अतिरिक्त पुस्तकको नाममा गरीब विद्यार्थीहरूको ढाड सेक्ने गरी महँगो अतिरिक्त पुस्तक किन्न बाध्य बनाएको सोही विद्यालयका कक्षा ९ मा अध्यनरत एक छात्रले बताए ।
शिक्षकले प्रकाशकबाट निश्चित प्रतिशत रकम कमिसन पाउने प्रलोभनमा महंगो अतिरिक्त पुस्तक समेत विद्यार्थीलाई भिडाउन खोजेको आरोप अभिभावकको रहेको छ । नियमित कक्षामा पढाइ हुने पुस्तकहरू निःशुल्क पाउने भएतापनि नेपाली व्याकरण लगायतको अतिरिक्त पुस्तकको नाममा निश्चित तोकिएको हिरालाल फुयाल लेखक रहेको सो पुस्तक किन्नु पर्ने भन्दै कक्षा कोठामा नै बिक्री वितरण गर्दै आएको सोही विद्यालयमा अध्ययनरत एक छात्राले बताइन् ।
पैसा नभएको बेला अतिरिक्त पुस्तकको नाममा विद्यालयमा नै शिक्षक स्वयंले बिक्री वितरण गर्नु व्यापार मुखी शिक्षा भएको भन्दै सो सम्बन्धमा प्रधानाध्यापक सँग कुरा गर्ने स्थानीय अभिभावकले बताए । कोर्स अनुसारको सबै पुस्तक निःशुल्क भएता पनि सो अतिरिक्त व्याकरण पुस्तक सम्बन्धित शिक्षकसँग किन्नुपर्ने भनिएपछि विद्यार्थीले विरोध जनाएका हुन्। सो अतिरिक्त पुस्तकको मूल्य विद्यार्थीहरूसँग ३ सय ८० रुपया प्रति गोटाको दरले कक्षा ९ र १० मा अध्ययनरत छात्र छात्राहरुलाई कक्षामा नै बिक्री वितरण गरिँदै आएको तथ्य बाहिरिएको हो ।
सो सम्बन्धमा विद्यालयका प्रधानाध्यापक देव नारायण हुमागाई सँग बुझ्दा यस विषयबारे आफूहरुलाई कुनै जानकारी नभएको र कुनै संस्थागत निर्णय समेत नभएको बताएका छन् ।