प्राइम खबर संबाददाता | बैशाख १२, २०८० मंगलबार
आईतबार सम्पन्न प्रतिनिधि सभाको उप निर्वाचनमा भारी मतान्तरले तनहूँ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले विजयी भएका छन् ।
मंगलबार बिहान सम्पन्न मतगणना पश्चातको अन्तिम परिणाम अनुसार डाक्टर वाग्लेले ३४ हजार ९ सय २९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका गोविन्द भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा ६५ हजार ३ सय १६ मत खसेको थियो ।
तनहुँ क्षेत्र नं १ मा गत मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भएका थिए । पौडेल हाल राष्ट्रपतिमा निर्वाचित भएसँगै सो क्षेत्रमा प्रतिनिधि सभा सदस्य रिक्त भएपछि उप निर्वाचन भएको हो ।