प्राइम खबर संबाददाता | बैशाख १६, २०८० शनिबार
रौतहटको चन्द्रपुर नगरपालिका वडानं ८ स्थित बेतौनामा रहेको दलित प्राथमिक विद्यालयका प्रधानाध्यापक सोनेलाल यादवले विद्यालय हातामा रहेको साल प्रजातिको रुख बिक्री वितरण गरेको तथ्य बाहिरिएको छ।
यादवले डिभिजन वन कार्यालय रौतहटलाई जानकारी समेत नदिई विद्यालय हाता भित्र रहेको बडेमानको सालको रुख काटेर वेपत्ता पारेका छन् । सरकारी नियम अनुसार निजी जमिनमा लगाएको रुख काट्दा समेत डिभिजन वन कार्यालयको अनुमती चाहिनेमा प्रधानाध्यापक यादवले वन कै जमिनमा रहेको विद्यालयको हाता भित्रको उक्त रुख काटन लगाएर वन कार्यालय लाई नै चुनौती दिएका छन् ।
उनले सो सालको रुखलाई गोलिया बनाएर बिभिन्न स्थानमा पुर्याएको श्रोतको भनाइ रहेको छ । डिभिजन वन कार्यालय रौतहटका प्रमुख सुनिल कर्णले मनलाग्दी वनको रुख काट्ने यादव माथि बन ऐनमा रहेको व्यवस्था अनुरूप कारबाही हुने बताएका छन्। रौतहटमा पछिल्लो समय कर्मचारीहरु नै अवैध तरिकाले काठ बिक्री वितरण गर्ने, गायब पार्ने लगायतका काममा लाग्दा नियमनकारी निकायले एक्सन लिन नसकेको आरोप स्थानीयबासीको लाग्दै आएको छ ।