प्राइम खबर संबाददाता | बैशाख १८, २०८० सोमबार

मधेश प्रदेशका पत्रकारहरूले विश्व प्रेस स्वतन्त्रता दिवस चन्द्रनिगाहपुरमा मनाउने भएका छन ।
मुख्यमन्त्री रामसरोज यादवको प्रमुख आतिथ्यमा मधेश पत्रकारिता सम्मान हस्तान्तरण  एवम् प्रदेश ऐन र पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रम हुने नेपाल पत्रकार महासंधका प्रदेश अध्यक्ष राजेश कुमार कर्णले बताए ।


नेपाल पत्रकार महासंघ मधेस प्रदेश तथा रौतहट शाखाको संयुक्त  आयोजनामा हुने उक्त अन्तरक्रिया कार्यक्रम  प्रदेशका ८ वटै जिल्लाका अध्यक्षहरुको सहभागिता हुने अध्यक्ष कर्णले बताए । विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३)को अवसर पारेर सो कार्यक्रम हुन लागेको हो ।  यहि वैशाख २० गते बुधबार बिहान १० बजे जिल्लाको चन्द्रपुर स्थित रहेको होटेल अशोकामा हुने कार्यक्रममा मधेश प्रदेश भरिको ८ वटै जिल्लाका पत्रकारहरुको सहभागिता रहने बताइएको छ । 
सो अवसरमा बिहान ८ बजे महासंघ राैतहटकाे अगुवाइमा प्रभातफेरीको आयोजना गरिने बताइएको छ । जिल्लाका सबै सञ्चारकर्मीलाई चन्द्रनिगाहपुरमा हुने प्रभातफेरिमा सहभागिताका लागि नेपाल पत्रकार महासंघ राैतहट शाखाले अनुरोध समेत गरेकाे छ । जसको लागि सम्पूर्ण तयारी पूरा भएको नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव श्याम बन्जाराले बताए । 
कार्यक्रम सञ्चालनका लागि उपयुक्त स्थलको निरीक्षण चन्द्रपुर नगर प्रमुख सन्जय काफ्ले,नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चाैहान,केन्द्रीय सदस्य द्वय शिवपुरी , केसि लामिछाने,मधेस प्रदेश महासचिव श्याम बन्जरा,जिल्ला अध्यक्ष , उपाध्यक्ष  सहितको टोलीले गरेका छन् ।