प्राइम खबर संबाददाता | बैशाख २३, २०८० शनिबार

चन्द्रपुर खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको साधारणसभा स्थगित भएको छ। वर्तमान समिति चयन भएको एक दशक पश्चात शनिबार आयोजना गरिएको उक्त चुनावी साधारण सभाको कार्यक्रममा विवाद भएपछी साधारणसभा स्थगित भएको हो ।


चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जय कुमार काफ्ले को प्रमुख आथित्यतामा भएको उद्घाटन  सत्र शान्तिपूर्ण रुपमा सम्पन्न भएपनि बन्द सत्रमा विवाद देखिएको थियो ।  उद्घाटन सत्रमा समितीले पेस गरेको आर्थिक प्रतिबेदनमा अनियमितता देखिएको र आर्थिक अपचलन ब्याप्त भएको भन्दै चौतर्फी विरोध भएको थियो । कार्यक्रममा संस्थाकी कोषाध्यक्ष किरण रेग्मी अनुपस्थित मात्र भइनन् की उनको हस्ताक्षर बिनाको लेखापरीक्षण प्रतिवेदन समितिले उपभोक्तालाई थामाइएको थियो । 



कोषाध्यक्ष अनुपस्थित भएपछि उनको सट्टा संस्थाका सदस्य अनन्त अधिकारीले  प्रस्तुत गरेको प्रतिवेदनमा अनियमितताको शंका रहेको भन्दै उपभोक्ताहरु बिच वादविवाद उत्पन्न भएको हो ।



लेखापरीक्षण प्रतिवेदन अनुसार ५ लाख मुद्दती खातामा राखेपनि ब्याज आम्दानी भने सुन्य देखाएको छ । शौचालय निर्माण तथा भान्सा घर निर्माणमा खर्च देखाईएको छ भने पछाडी फेरी दायित्व शीर्षक राखी हार्डवेयरको नाममा तिर्नु पर्ने ४ लाख ८५ हजार देखिएको छ ।

यस्तै संस्थाका अध्यक्ष स्वयं  दिपक कुमार धिताल आफैले ५ लाख भन्दा बढी रकम पेस्कीको रुपमा लिएका छन् । कार्यक्रममा सहभागीका अनुसार सामाजिक संस्थाका अध्यक्षले यसरी पेश्की लिने नियम नरहेकोले अध्यक्षले मनोमानी गरेको आरोप उनीहरुले लगाएका थिए ।

कार्यक्रम ११ बजे राखिएको भएपनि लेखापरीक्षणको प्रतिलिपी १२ बजे आएपछी कार्यक्रम सुरु गरिएको थियो । समितीमा पेसनै नगरी कार्यक्रमकै दिन लेखापरीक्षण प्रतिवेदन आउनु भनेको आफ़ुले गरेको अनिमियतता ढाकछोप गर्ने मनसाय प्रष्ट देखिएको उपभोक्ताहरुले औंल्याए।

कार्यक्रममा सो समितीका केही पदाधिकारीले नै आफुहरु संग समितिमा केहि छलफल नगरी  आफूखुशी निर्णय गर्दै मनोपोली ढंगले संस्था चलाएको प्रती आक्रोस पोखेका थिए । अध्यक्षले गरेको मनोमानीको जिम्मा सदस्यले लिन नसक्ने सो संस्थाका सदस्य नविन बरालले बताए ।

आर्थिक अनियमितता देखिएकाे भन्दै छानबिन गर्नुपर्ने माग कार्यक्रममा सहभागी सदस्यहरुले उठाएपछि  ५ सदस्य छानबिन समिति गठन भएको छ। बाबुराम दाहालको संयोजकत्वमा तोकिएको छानबिन टोलीले आर्थिक विवरण माथि छानबिन गरी १० दिन भित्रमा प्रतिवेदन बुझाउने सहमती भएको छ। यसैबिच स्थगित साधारण सभाको बन्द सत्र भने आगामी जेष्ठ ६ गते  चन्द्रपुर ५ स्थित संस्थाकै   प्रांगणमा हुने आयोजकले बताएको छ।