प्राइम खबर संबाददाता | बैशाख २८, २०८० बिहिबार

रौतहटको गरुडा समनपुर सडक खण्ड निर्माणको जिम्मा पाएको सगुन कन्ट्रक्सनको चरम लापरबाहीका कारण जिल्लाको समनपुर – गरुडा सडकमा दुर्घटनाको जोखिम बढ्दै गएको छ ।


जिल्लाको गरुडा र गढिमाई नगरपालिकालाई जोड़ने समनपुर गरुडा सडकखण्डमा सगुन कन्ट्रक्सनले निर्माणजन्य सामग्रीहरू लामो समयदेखि सडकमै थुपारेर राखेका कारण दिनहुँ दुर्घटनाको जोखिम उच्च हुँदै गएको छ ।



वर्षौंदेखि जीर्ण रहेको सो गरुडा समनपुर सडकखण्डलाई कालोपत्रे गर्ने जिम्मा सगुन कन्ट्रक्सनले पाएको छ । कन्ट्रक्सनले उक्त सडक पिच गर्ने भन्दै सडक पिच नगरी यस्तै अलपत्र छाडेको स्थानीय राजु सहनी बताउँछन् ।



कन्ट्रक्सनले निर्माण कार्यमा प्रयोग हुने ढुंगा, गिटी लगायतका सामग्रीहरू सडकमै थुर्पादा एकातर्फ दुर्घटनाको जोखिम बढेको छ भने अर्कोतर्फ सडक नै कुरूप बन्न पुगेको छ । उक्त कन्ट्रक्सनले सो सडक कालोपत्रे गर्नका लागि करिव एक महिनादेखि समनपुरबाट मलाहीटोलसम्म सडकको आधि भाग मिचेर बीच सडकसम्म निर्माण कार्यमा प्रयोग हुने गिटी थुपारेका कारण पैदल र सवारी साधनबाट यात्रा गर्न यात्रुहरुलाई निकै कठिनाई भइरहेको छ ।

अति व्यस्त सडकको रुपमा रहेको र दैनिक हजारौ सवारी साधन ओहोर दोहोर गर्ने समनपुर गरुडा सडकको फुटपाथसमेत मिचेर सगुन कन्ट्रक्सनले निर्माणजन्य सामग्रीहरू सडकमै भण्डारण गरेर छाडिदिएका कारण सर्वसाधारणहरु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् ।

जथाभावी थुपारिएका निर्माण सामग्रीका कारण आवत- जावतमा कठिनाइ हुनुका साथै र ट्राफिक जामको समेत उतिकै समस्या रहेको पाइएको छ । सो सडकमा ठुलठुल्ला खाल्डाखुल्डी रहेको र अहिले चर्को गर्मी साथै हावा चल्ने समय भएकोले अत्यधिक धुलो उड्ने गरेको कारण दिनमा सो सडक भएर हिड्नै मुस्किल हुने गरेको स्थानीयहरु बताउँछन ।

 सडकको आधी भाग सम्ममा निर्माणजन्य सामग्री थुपारेर राखिएको कारण सवारी साधनले यात्रा गर्न निकै कठिनाई भइरहेको गढिमाई नगरपालिका ४ सुन्दरपुरका महेश साहले बताएका छन् ।

निर्माण कम्पनीले छिटोछरितो सडक निर्माण गर्नुपर्नेमा ढिलो गरी लामो समयसम्म निर्माण सामग्री सडकमै थुपारेर राखेका कारण यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य भएको साहले बताए । व्यस्त सडकको काम तीव्र रूपमा सञ्चालन गरेर निकास दिनुको सट्टा झन् अवरोध बढेर आवतजावतमा कठिनाइ भोग्नुको साथै ठूला सवारी गुड्दा उड्ने धुलोले श्वास प्रश्वासमा समेत समस्या हुने गरेको स्थानीय वीरेन्द्र सहनीको गुनासो रहेको छ।