प्राइम खबर संबाददाता | बैशाख २८, २०८० बिहिबार
मधेश प्रदेश को रौतहट जिल्लाबाट संचालित रेड टेलिभिजनकी संस्थापक स्वर्गीय श्रीमती रामा देवी यादवको पूण्यतीथिको अवसरमा प्रदान गरिने “रामा यादव स्मृति पत्रकारिता पुरस्कार” २०८० बाट प्राईम टेलिभिजनमा कार्यरत संचारकर्मी सिर्जना कार्कीलाई प्रदान गरिएको छ ।
श्रीमती रामा यादव स्मृति प्रतिष्ठानद्धारा विहिवार रेड टेलिभिजनको सभा हल गौरमा आयोजित एक कार्यक्रम बीच आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव र प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले संयुक्त रुपमा कार्कीलाई उक्त पुरस्कारको राशी र प्रमाण पत्र प्रदान गरेका हुन् ।
२६ हजार १ रुपैया राशीको उक्त पत्रकारिता पुरस्कार स्वास्थ्य क्षेत्रमा रहेका विकृति एवं विसंगति हटाउनमा कलम चलाउने प्राइम कर्मी कार्कीलाई प्रतिष्ठानले पुरस्कृत गरेको बताएको छ ।
रामा यादव स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले कोरोना कालमा जोखिम मोलेर पत्रकारिता गर्दै आएका कतिपय संचारकर्मीहरुले ज्यान गुमाउनु परेको दुखद अवस्थालाई स्मरण गर्दै स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र विसंगतिलाई दुर गर्न अथक प्रयास गरेका संचारकर्मीहरुका लागि रामा यादव स्मृति पत्रकारिता पुरस्कारबाट संचारकर्मीहरुलाई राम्रो अवसर प्रदान गरेको चर्चा गरे ।
उनले पत्रकारिता पेशा समाज प्रति उत्तरदायी भएर काम गर्नुपर्ने जिकिर गर्दै तराई मधेशका जिल्लाहरुमा देखिएका कुरितीहरुलाई हटाउदै स्वच्छ, निष्पक्ष, सत्य पत्रकारिता गर्न सम्पूर्ण संचारकर्मीहरु संग आग्रह गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले संचारकर्मीहरुको काँधमा ठूलो जिम्मेवारी रहेको हुँदा सत्य, तथ्य, बस्तुपरकलाई ख्याल गर्दै रिर्पोटिंग गरेमा मात्रै समाचारको उद्देश्य पुरा हुने बताए । पत्रकार समाजको ऐना हुन्छ, ठिक त्यसै रुपमा संचारकर्मीहरु आफूहरुलाई त्यसैमा रुपमान्तरित गरेर पत्रकारिता गरेमा समाज, जिल्ला र राष्ट्रमा खोजे जतिको परिवर्तन हुने र देश विकासको गतिमा अघि बढ्ने उनको कथन रहेको छ।
रामा यादव स्मृति प्रतिष्ठानका संयोजक जयप्रकाश यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका मधेश प्रदेश सदस्य शैलेन्द्र झा, वरिष्ठ पत्रकार प्रभातकुमार झाले आम संचारकर्मीहरुले भोग्नु परेको पीडालाई पोख्दै कोभिड कालको समयमा भएको क्षतिहरुको हाल सम्म राज्यबाट उचित सम्बोधन हुन नसकेको बताए । साथै एक पत्रकारले गर्नुपर्ने काम कत्र्तव्यलाई बुझेर मात्रै पत्रकारिता गर्नुपर्ने अन्यथा फेसबुके पत्रकारिताको कुनै औचित्य नरहेको स्पष्ट पारेका छन् ।
आयोजक संस्थाले आफूलाई छनौट गरी पुरस्कृत गरेकोमा गर्व महसुस भएको सम्मानित कार्कीले बताइन्।
यसैगरी रामा यादव स्मृति पत्रकारिता पुरस्कार २०७९ बाट यस अघि नै पुरस्कृत घोषित पोखराकी पत्रकार अनिषा जयन्ती श्रेष्ठलाई गत वर्ष अनुपस्थित भएको हुँदा आजै उक्त कार्यक्रममा नगद प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको रेड टेलिभिजनका संयोजक जयप्रकाश यादवले जानकारी दिए ।
उक्त कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका जिल्ला प्रमुखहरूको साथै संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।