प्राइम खबर संबाददाता | बैशाख २९, २०८० शुक्रबार
गण्डकी प्रदेशको मन्त्रिमण्डल बिस्तार भएको छ । शुक्रबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले थप ४ मन्त्रीहरुको नियुक्त गर्दै कार्यविभाजन समेत गरेका छन् । उनले कांग्रेसबाट ३ र माओवादीबाट १ मन्त्री थपेका हुन् ।
कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दीपेन्द्रबहादुर थापा र तनहुँका जितप्रसाद आले मन्त्री नियुक्त भए । माओवादीबाट रेशमबहादुर जुग्जाली मन्त्री बनेका छन् । उनीहरुले आजै पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । अबको मन्त्रिमण्डलमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित ७ मन्त्रालयमध्ये सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडा, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारी, कृषि तथा भूमि व्यवस्थामा महेन्द्रध्वज जिसी, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामा रेशमबहादुर जुग्जालीले जिम्मेवारी पाएका छन् । यस्तै, आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी जितप्रसाद आलेलाई र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दीपेन्द्रबहादुर थापाले पाएका छन् । ३ पल्ट मन्त्री बनिसकेको दीपक मनाङे फेरि मन्त्री बन्ने चर्चा भए पनि उनको स्थानमा आलेले स्थान पाएका हुन् ।