प्राइम खबर संबाददाता | बैशाख ३०, २०८० शनिबार

रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा बेथितिको पराकाष्ठा नै नाघेको पाइएको छ । सो नगरपालिकाको विभिन्न भौतिक योजनाहरुको उपभोक्ता समिति मार्फत नै काम हुने गरेको छ। उपभोक्ता समिति मार्फत भएका उक्त योजनाहरुको स्थलगत अनुगमन गरी सुझाव सहितको प्रगति विवरणमा उल्लेख गरी भुक्तानी गर्नुपर्ने प्रावधान भएको भएतापनि सो अनुरूप कार्य हुन नसकेको स्थानियहरुको गुनासो रहेको छ ।


स्थानीय सरकारका जनप्रतिनिधिहरु फिल्डमा खुट्टा नै नटेकेको योजनाको समेत अनुगमनमा भटाभट सही छाप गरी भुक्तानी गराउन तल्लीन देखिन्छन् । कोठामा नै बसेर अनुगमन गर्ने पालिका जिल्लामा अन्य प्रसस्त भेटिने भएतापनि चन्द्रपुर नगरपालिकाको सिको गरेका अन्य पालिकामा समेत यो समस्या विद्यमान कायम रहेको छ।



हाल असारे बजेटको सिजन सुरु भएसँगै उपभोक्ता समितिलाई भन्दा बिचौलियालाई भ्याई नभ्याई रहेको हुँदा उनीहरू दिनहुँजसो नगरपालिका धाउन थालेका छन् । एउटै व्यक्ति आधा दर्जन सम्म उपभोक्ता समितिका फाइल बोकेर उपभोक्ता समितिको काममा कागज मिलाउन र अनुगमन समितिका सदस्यहरूलाई हस्ताक्षर गराउन टेबुलमै पुग्ने गरेको पाइएको छ। अनुगमनमा सही गराउन बिचौलियाले टेबलमा नै फाइल ल्याएपछि जन प्रतिनिधिहरु र कर्मचारी समेतले अनुहार हेरेर भटाभट सही गर्ने गरेको पाइएको छ । भौतिक योजना सँगै सामाजिक विकासको योजनामा समेत अनुगमन समितिले फिल्डमा गएर अनुगमन गर्नुपर्ने प्रावधान कार्यविधिमा स्पष्ट उल्लेख रहेको छ ।



गठन भएका उपभोक्ता समितिका पदाधिकारीहरु मुस्किलले केही आफै कार्यालयमा फाइल बोकेर आउने भएतापनि विभिन्न राजनीतिक दलका कार्यकर्ता र आसेपासेको नाममा उपभोक्ता समिति गठन गर्दै बिचौलिया मार्फत काम गरि भुक्तानी गर्ने गर्नमा चन्द्रपुर नगरपालिका अब्बल देखिएको छ । नगरपालिकाका कर्मचारीले उपभोक्ता समितिको अनुहार समेत देख्न पाइन्न तर बिचौलियाले ल्याएको फाइलको काम गर्न बाध्य हुनु परेको नगरपालिकाका कर्मचारी स्वयं नै बताउँछन् ।

नगरपालिकाका योजनाको काममा उपभोक्ता समिति मार्फत हुँदै गएका केही काममा भने बिचौलिया हावी भएको हुँदा अब त्यसतर्फ आफ्नो ध्यान केन्द्रित भएकोले नियमन र अनुगमनमा आफू केन्द्रित रहने प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारी बताउँछन् ।