प्राइम खबर संबाददाता | जेठ ३, २०८० बुधबार
चन्द्रपुर वडा नम्बर ५ मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको जग्गा व्यवस्थापनका लागि बुधबारबाट जग्गाको नापजाँच सुरु भएको छ ।
वडा नम्बर ५ का भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको संकलन भएको तथ्याङ्क बमोजिम नापजाँच सुरु भएको हो। उनीहरुको जग्गादाबीमा नियम अनुसार सूचना निकाल्दा कसैबाट पनि दाबी बिरोध नपरेकाले वडा सहजीकरण समितिले नगरपालिकामा सिफारिस गरेको वडा अध्यक्ष निलहरी कोइरालाले जानकारी दिए ।
वडा सहजीकरण समितिबाट सिफारिस भई आएकाहरुको नगर सहजीकरण समितिले सिफारिस गरेर भूमि आयोगमा बुझाएको राष्ट्रिय भूमि आयोग रौतहटका अध्यक्ष लक्ष्मण रेग्मीले जानकारी दिए ।
बुधबार वडा नम्बर ५ स्थित सुन्दर्वस्ती क्षेत्रका जग्गाको ब्लक निकाल्ने र कित्ताकाट गर्ने काम सुरु गरिएको उनले बताए । अब कित्ताकाट गरी जग्गा छुट्याएर भूमि आयोगलाई सिफारिस गर्ने र भूमि आयोगले धनीपुर्जा वितरण गर्ने रेग्मीले बताए । बुधबार सो वडामा जग्गा नापजाँचको उद्घाटन कार्यक्रममा प्रमुख अथिति संघीय सांसद देव प्रसाद तिमल्सिनाले उद्घाटन गर्दै दलित भूमिहीन, सुकुम्बासी र अव्यवस्थित रूपमा बसोबास गरिरहेका स्थानीयले लालपुर्जा पाउने कुरामा दुईमत नरहेको र वितरणको काममा विलम्भ नगर्न सरोकारवाला निकायलाई निर्देशन समेत दिएका छन् । निस्सा प्राप्त गरेका भूमिहीनहरुले जग्गाको धनीपुर्जा पाउने चरणमा पुगेको हुँदा त्यसको नापजाँच सुरु भएको र आयोगको कामलाई वडा कार्यालयले समेत सहजीकरण गर्न आफू तत्पर रहेको वडा अध्यक्ष कोइरालाले बताए ।