प्राइम खबर संबाददाता | जेठ ४, २०८० बिहिबार
रौतहट नेपाल नेत्र ज्योति संघ नामक गैह्र सरकारी संस्थाले खरिद गरेको जग्गामा रकमको चलखेल भएको पाइएको छ । ६ महिना अघि ९ लाख ३२ हजारमा खरिद भएको २ धुर जग्गा नेपाल नेत्र ज्योति संघ काठमाडौँ ले १ करोड ९ लाखमा खरिद गरेको रहस्य बाहिरिए पछि उक्त जग्गा खरिदमा नेपाल नेत्र ज्योति संघको पदाधिकारीको नै ठूलो चलखेल भएको पुस्टि भएको हो ।
गएको असोज १२ गते रौतहट जिल्लाको साविक गाविस चन्द्रनिगाहपुर वडा नम्बर १ स्थित रहेको किता नम्बर ७२४३ को २ धुर जग्गा कल्पना अधिकारी संग ९ लाख ३२ हजारमा खरिद भएको उक्त जग्गाको मुल्य १ लाख ३२ हजार र घरको मूल्य ८ लाख राखेर रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ९ डुमरिया मटीऔन बस्ने धनमायाले खरिद गरेको मालपोत कार्यालय चन्द्रनिगाहपुरको लिखतबाट देखिएको छ।
गत चैत्र २९ गतेको मितिमा सोहि जग्गा नेत्र ज्योति संघले जग्गाको मुल्यांकन ५९ लाख र सो २ धुर जमीनमा बनेको घरको मूल्य ५९ लाख मुल्यांकन गरि १ करोड ९ लाखमा खरिद गरेको पारित राजिनामाबाट पुस्टि भएको मालपोत कार्यालय चन्द्रनिगाहपुरका प्रमुख रोशन श्रेष्ठले बताए।
नेपाल नेत्र ज्योति संघद्वारा चन्द्रपुर ६ स्थित देउराली चौकमा संचालित आखा अस्पतालका डाक्टर रियाजले संघका रौतहट अध्यक्ष संग मिलोमतो गरेर ४० लाख भन्दा कम मुल्यमा बिक्रि हुने जग्गाको १ करोड ९ लाख रुपैयाँ थैली राखेर बिक्रि वितरण गराएको बुझिएको छ ।
२ धुर क्षेत्रफल मात्र नम्बरी जग्गा भएको सो जग्गामा ८ धुर सार्बजनिक जग्गा मिचेर १० धुरमा भवन निर्माण गरी कम्पाउण्ड वाल सहित गरिएको छ । डाक्टर रियाजले २ धुर जग्गा खरिद गरिएको भएतापनि आफ्नो कब्जामा लगभग १० धुर जग्गा रहेको स्वीकार समेत गरेका छन्।
गौर- चन्द्रनिगाहपुर सडक खण्ड संग समेत नजोडिएको भित्री बाटोको उक्त जमीन १ करोड ९ लाखमा बिक्रि भएको कुरा अपत्यारिलो भएको स्थानीयहरुले बताएका छन् । समाचार स्रोतका अनुसार चन्द्रपुर आखा अस्पतालमा कार्यरत महिला स्टाफ यशोदा परियारको नातेदार पर्ने धनमायाको नाममा ९ लाख ३२ हजार मुल्यमा खरिद गरी उक्त जग्गा नेपाल नेत्र ज्योति संघको नाममा चन्द्रनिगाहपुरमा आँखा अस्पताल सञ्चालन गरी बसेका डाक्टर रेयाजले अनुचित रुपमा आर्थिक लाभ लिने उदेश्यले त्यहि जग्गा आफै आबद्ध रहेको संस्थालाई १ करोड ९ लाख मुल्य देखाएर बिक्रि गराएको स्रोतको दाबी रहेको छ । पारित भएको लेखतको ऋणीको नाउमा सम्पर्क नम्बरको महलमा डाक्टर रियाजको नै आफ्नो मोबाइल नम्बर ९८५५०११७८६ उल्लेख गरिएको हुनु र ऋणी आँखा अस्पतालमा कार्यरत महिला कर्मचारीको नातेदार भएकोले शंकास्पद रहेको छ।
नेपाल नेत्र ज्योति संघको प्रतिनिधिको रूपमा नागेश्वर प्रसाद चौधरीको नाममा हस्ताक्षर गरे पनि सो संघको छाप नभई गौर आखा अस्पतालको नामको छाप लगाएकोले आर्थिक चलखेल भएको सहजै अनुमान लगाउन सकिन्छ । जग्गा पारित गराउदा लागेको दस्तूर ४ लाख ९० हजार ६ सय रुपैया नेत्र ज्योति संघले तिरेको छ भने लाभ कर ७ लाख ४७ हजार ६०० रुपैया पनि संघले नै दिएको बुझाएकोले यो जग्गा प्रकरणको गहन रुपमा छानबिन हुनु पर्ने स्थानीयको आवाज उठ्दै गएको छ ।