प्राइम खबर संबाददाता | जेठ ३१, २०८० बुधबार
मंगलबार राती रौतहटको गौर नगरपालिका वडा नं. ४ टिकुलियामा एक घर जलेर नष्ट भएको छ । टिकुलिया निवासी पसुराम साहको घर जलेर नष्ट हुनुको साथै लाखौंको क्षति हुन पुगेको छ भने उक्त घटनामा १४ जना घाईते भएका छन । उनिहरुको उपचार प्रादेशिक अस्पताल गौरमा जारी छ ।
मैनबत्तीबाट सल्केको आगोमा ग्यास सिलेंडर बिस्फोट भएपछि एक दर्जनभन्दा बढी व्यक्ति सामान्य देखि गम्भीर घाइते भएका थिए ।
गौर नगरपालिकाको वैकल्पिक फायर बिग्रेड र स्थानीयको सहयोगमा आगो नियन्त्रण गरिएको थियो । आगोको शुरुवाती स्वरुप प्रलयको राप झै देखिए पनि समयमा नियन्त्रण गरी थप क्षति हुनबाट रोकिएको थियो ।
गौर नगरपालिकाको वारुण यन्त्र एक महिना अघि दुर्घटनामा परि विग्रेको हुँदा तत्कालको लागि नगरपालिकाले खरिद गरेको वैकल्पिक फायर बिग्रेडले आगलागी नियन्त्रणका लागी काम गर्दै आएको छ ।