प्राइम खबर संबाददाता | असार ३, २०८० आइतबार

चन्द्रनिगाहपुरमा पछिल्ला केही दिनयता सर्वसाधारण झ्याप झ्याप बत्ती जाँदा हैरान भएका छन् । विद्युत् प्राधिकरणको फितलो व्यवस्थापनका कारण चन्द्रपुरका विभिन्न स्थानमा दैनिकजसो नै बत्ती आउने जाने भइरहेको छ । यस्तो समस्याका कारण आजित हुने गरेको चन्द्रनिगाहपुरका उपभोक्ताहरुले बताएका छन् ।


विद्युत प्राधिकरण शाखामा नयाँ कार्यालय प्रमुख आएदेखि दैनिकजसो बत्ती आउने जाने गरेको गुनासो आउन थालेका छन् । बत्ती जाने आउने समस्या बढे पनि यसको दीर्घकालीन समाधान गर्न प्राधिकरण शाखा असफल जस्तै देखिएको छ । पछिल्लो समय सो शाखामा कार्यालय प्रमुखको रुपमा धीरेन्द्र यादव कार्यरत छन ।



नेपाल विद्युत् प्राधिकरणका शाखा प्रमुख यादव भने लोडसेडिङको समस्या नरहेको दाबी गर्छन् । ‘लाइन नै सर्ट भएर ट्रान्सफर्मर पट्केर कुनै बेला बत्ती गएको हुन सक्छ तर प्रणालीमा कुनै समस्या छैन । बत्ती जाने समस्या हुँदा हाम्रो टेलिफोनमा तुरुन्तै सूचना आउने गरेको छ । त्यसलाई हामी तुरुन्तै समाधानसमेत गर्ने गरेका छौं,’ यादवले भने । यद्यपि गुनासो सुन्ने निकाय विद्युत प्राधिकरणको फोन नउठ्ने र प्राय उठाएर होल्डमा राखिदिने कर्मचारीको नियतिको कारण बारम्बार समस्या भइरहेको गुनासो चन्द्रपुरका स्थानीय व्यवसायीहरु बताउँछन् ।



अहिले हावाहुरी चल्ने प्रतिकूल मौसमका कारण प्रसारण लाइनमा सानो समस्या आउँदा पनि विद्युत आपूर्ति अवरुद्ध हुने गरेको प्राधिकरणले जनाएको छ । नेपालमा वैकल्पिक प्रसारण लाइन नहुँदा कुनै एउटा खण्डमा सानो समस्या आउँदा पनि सो लाइनले ओगटेको ठूलो क्षेत्रमा विद्युत् आपूर्तिमा अवरोध हुने गरेको प्राधिकरणको दाबी छ ।

यतिबेला हुरी–बतास, चट्याङ र असिनापानी पर्ने मौसम हो । प्रसारण लाइनको एउटा बाटोमा अवरोध हुँदा सीमित वैकल्पिक बाटोको प्रयोग गरेर विद्युत् आपूर्ति गर्नुपर्छ । एउटा लाइनको विद्युत् अर्को लाइनबाट पठाउन समय लाग्ने हुँदा केही समयका लागि विद्युत् आपूर्ति अवरुद्ध हुने गरेको प्राधिकरण बताउँछ ।

समय समयमा झिलिक झिलक लाइन आउने जाने गर्दा उपभोक्ताको विद्युतीय उपकरणहरु समेत बिग्रिने र समस्यामा पर्ने गरेको गुनासो स्थानीयको रहेको छ।