प्राइम खबर संबाददाता | असार १०, २०८० आइतबार
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाको नगर सभा सम्पन्न भएको छ । आईतबार भएको नगरसभा नगरपालिकाले चन्द्रनिगाहपुर स्थित एक होटलमा सम्पन्न गरेको छ । नगरपालिकाले ठूलो लगानी गरेर बनाएको नगरपालिकाको आफ्नै सभाहल हुँदाहुँदै ठूलो रकमी चलखेलका कारण होटलमा नगरसभा राखिएपछि स्थानीयले विरोध जनाएका छन् । होटल एएन प्लाजामा भएको नगरसभा कार्यक्रमममा नगरपालिकाले १अरब १९ करोड ८लाख ८४ हजार ७५० को बजेट आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारीले बताए। नगरपालिकाका प्रमुख सञ्जय कुमार काफ्लेले स्थानीय सञ्चारकर्मीहरुलाई समेत बाइपास गर्दै होटलमा नगरसभा राखेका भएपनि केही आफू निकटलाई भने सुटुक्क कर्मचारी मार्फत बोलाइएको थियो । होटलमा कार्यक्रम राख्दा ठूलो आर्थिक चलखेल हुने भन्दै केही जनप्रतिनिधिले भने नगरपालिकामा नै कार्यक्रम राख्न सुझाएका थिए । उक्त होटलमा जिल्लाका केही पलिकाहरुले समेत विगतमा कार्यक्रम नै नगरी मोटो रकम बिल भुक्तानी गर्ने गरेको खबर छरपस्ट भएको थियो । आज सम्पन्न नगरसभाको बैठक होटलमा बस्दा देखिएको चौतर्फी विवादका कारण आगामी बैठक १६ गते शनिबार बिहान ८ बजे नगरपालिकाको सभाहलमा बस्ने चन्द्रपुर नगरपालिकाले बताएको छ।