प्राइम खबर संबाददाता | असार १५, २०८० शुक्रबार
'मानो रोपेर मुरी' उब्जाउनेु महिनाको सुरुवात अर्थात् असार १५ गतेका दिन नेपालभर राष्ट्रिय धान दिवस मनाइँदै छ । 'जलबायु अनुकुलित कृषकमैत्री प्रबिधि, धान उत्पादनमा बृद्धि भन्ने मूल नाराका साथ यसबर्ष २० औ राष्ट्रिय धान दिबस मनाउन लागिएको हो ।' कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो। किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा नै व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ। ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ।
मध्यगर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्। यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ। शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दहीमा अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ। यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ। दही खुवाएर बिदा गरे शुभ प्राप्त हुने धार्मिक एबम् सांस्कृतिक मान्यता छ।
दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए भनिन्छ। आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकोमा जानु नपर्ने बताइएको छ। दहीले पाचन शक्ति पनि बढाउँछ। पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ। यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रुप लिएको छ। यसरी असार १५ नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ। असार १५ का दिन आज गाउँठाउँका किसानहरुले रोपार लगाएर धान रोपाइँ गर्छन्। यसरी आज १५ गते धान रोपाइँ गरे खेतबाट सह प्राप्त हुनगई मनग्य उत्पादन हुने विश्वास नेपाली समाजमा रहेको छ।