प्राइम खबर संबाददाता | असार २०, २०८० बुधबार

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक पीसीसी र ग्राभेल गर्ने कार्यको प्रसंगमा घुस लिँदै गर्दा रुपन्देही कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्दकुमार यादवलाई नियन्त्रणमा लिएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यादवलाई बुधबार ४५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।


कोटहीमाई गाउँपालिका ७ अन्तर्गतको सडक पीसीसी र ग्राबेल गर्ने कार्यको नापजाँच पश्चात भुक्तानी दिने भन्दै सेवाग्राहीबाट घुस माग गरेको सूचना तथा उजुरीका आधारमा आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले पक्राउ गरेको आयोगद्वारा विज्ञप्तिमा जनाइएको छ । सेवाग्राहीबाट ४५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा इन्जिनियर यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।