प्राइम खबर संबाददाता | असार २९, २०८० शुक्रबार

रौतहटको देवाही गोनाहीमा गएराति अज्ञात समूहले धारिलो हतियार प्रहार गरी एक जना युवकको हत्या गरेको छ ।


जिल्लाको देवाही गोनाही ६ कर्कच कर्मैयाका अन्दाजी ४० वर्षका जगरनाथ साह कानुको धारिलो हतियारले घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ ।



 घटना गएराति ११ र १२ बजेको बिचमा भएको भएपनि प्रहरीलाई सवा २ बजेको समयमा मात्रै खबर भएको बताएको छ । प्रहरीका अनुसार, आफ्नो घरभित्र सुतिरहेका अवस्थामा उनको हत्या भएको उनको श्रीमतीले थाहा पाएपछि प्रहरीलाई खबर गरेकी थिइन् ।



घटनाबारे पहिलो जानकारी पाएकी मृतककी श्रीमतीको अवस्था ठिक नहुँदा विस्तृतमा सोधपुछ गर्न नसकेको रौतहट प्रहरीले जनाएको छ ।



सो घटनाको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरीले घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।