प्राइम खबर संबाददाता | असार ३१, २०८० आइतबार
बिल रकम भुक्तानी नगरेकोप्रति विरोध गर्दै निर्माण ब्यवसायीहरुले आइतबार सडक डिभिजन कार्यालय,रौतहटमा कार्यालय घेराउ तथा धर्ना दिएका छन् ।
विभिन्न निर्माण ब्यवसायी तथा फर्मले चालु वर्षमा सम्पन्न गरेका विभिन विकास निर्माण कार्यक्रमको सम्पन्न भएर कार्यालयमा पेश गरिएको विलको रकम भुक्तानी नगरेका कारण चन्द्रनिगाहपुरस्थित सडक डिभिजन कार्यालयमा आइतबार दिउसो विरोध कार्यक्रम गरेका हुन । कार्यालयले असार मसान्तसम्म सम्पन्न गरिएका सडक तथा पुल निर्माण कार्यक्रमको रकम भुक्तानी नगरेपछि विरोध कार्यक्रम गरिएको हो । निर्माण ब्यवसायी संघ,रौतहटले सडक डिभिजन कार्यालयको परिसर बाहिर गेटमा विरोध स्वरुप टायर बालेका थिए भने कार्यालयको मुख्य गेटमा तालाबन्दी गर्दै ब्यानरसहित धर्ना दिएका हुन ।
यस कार्यालयको कार्यक्षेत्र रौतहट र सर्लाही जिल्ला हो । यसले यी दुई जिल्लामा संघिय भौतिक पुर्वाधार मन्त्रालयका विकास निर्माणका कार्यक्रमहरु सन्चालन गर्ने गर्दछ । यस कार्यालयले जिल्ला तथा अन्य जिल्लाका विभिन्न निर्माण ब्यवसायीको २५ करोड रुपैयाँ भन्दा बढि रकमको बिल भुक्तानी नगरेकाले आफुहरु बाध्य भएर सडक डिभिजनमा धर्ना र कार्यालय घेराउ गर्नुपरेको निर्माण ब्यवसायी संघ,रौतहटका अध्यक्ष कृष्णदेव यादवले बताए । यादवका अनुसार,सम्झौता र कार्यादेश बमोजिम सवै काम सकियो । विल बनेर पेश भयो । तर,कार्यालयले पैसा नआएको भनेर असार मसान्तसम्म पनि भुक्तानी नपाउँदा ब्यवसायीलाई आर्थिक संकट भएको छ । कार्यालयले फसाउने र दुख दिने काम गरेको छ । ४० जना भन्दा बढि निर्माण ब्यवसायीले भुक्तानी पाउनुपर्नेछ । सगुन कन्सट्रक्सन, राजदेवी, ढुकुची,आरके लगाएतका निर्माण कम्पनीको भुक्तानी बाँकी छ ।
दर्जनौं ब्यवसायीका करोडौं रकम रोकिएपछि ब्यवसायीलाई अफ्टेरो भएको जनाउँदै अर्का निर्माण ब्यवसायी अवधेशहरि भट्ठराईले स्विकृत योजनाको काम सकिएपछि पेमेन्ट नहुँदा मर्कामा परेको र भुक्तानी नपाएमा थप संघर्षका कार्यक्रम गरिने बताउछन् । उनका अनुसार,दुईवटा पुल र अन्य सडक निर्माण योजनाको रकम भुक्तानी नभएको हो । भुक्तानी रकमका लागि कार्यालयले चासो नदिएको निर्माण ब्यवसायीको आरोप छ । ब्यवसायीहरुका अनुसार,सडक डिभिजन रौतहटका प्रमुख दरोगा प्रसाद भ्रष्ट हुँदै गएको र पहुँवाला हुँ भन्दै शक्ति देखाउने ब्यक्ति हुन । दरोगाले कमिशन अर्थात पिसीका लागि ब्यवसायीलाई दुख दिने गरेको आरोप निर्माण व्यवसायीको रहेको छ । सानादेखि ठुला योजना,सुचना विज्ञापन आदीमा पैसा बिना केही काम गर्दैनन् । पहिलेभन्दा दरोगा आएपछि सडक डिभिजनले निर्माण ब्यवसायीलाई दुख दिंदै आएको आन्दोलन मा उत्रेका व्यवसायीहरु बताउँछन् । डिभिजन प्रमुख दरोगालाई घुसखोरी भएको र समयमा पुलको योजना नगरेको भन्दै गत महिना चन्द्रपुर नगरपालिका वडानम्वर तीनका गैंडाटारबासीले कुटपीट समेत गरेका थिए ।
सडक डिभिजन कार्यालयका नायव सुब्बा रुपलाल यादवले अर्थमन्त्रालयबाट पैसा निकासा नभएको बताउँदै सवै कुरा आफुले भन्न नसक्ने जनाउनुभयो । कार्यालय प्रमुख दरोगा प्रसाद कार्यालयमा उपस्थित भएका छैनन् । यस सम्वन्धमा जानकारी लिन उनलाई फोनमा सम्पर्क गर्दा कल उठेन ।